काठमाडाैँ । होटल संघ नेपाल (हान)ले क्यासिनो सञ्चालन गर्ने तारे होटलमा होटलको १० प्रतिशत सेयर अनिवार्य हुनुपर्ने प्रश्तावित व्यवस्था हटाउन माग गरेको छ ।
बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा पर्यटन विधेयक, २०८१ माथिको छलफलमा बोल्दै हान अध्यक्ष विनायक शाहले यस्तो माग गरेका हुन् ।
शाहले चारतारे र पाँचतारे होटलमा क्यासिनो सञ्चालन गर्न पाउने व्यवस्था गरेपनि क्यासिनोमा सम्बन्धित होटलको १० प्रतिशत सेयर अनिवार्य गर्ने प्रावधान उचित नहुने तर्क गरे ।
क्यासिनो सञ्चालनमा होटललाई अनिवार्य रूपमा साझेदार बनाउँदा क्यासिनो बन्द भएपछि त्यसबाट उत्पन्न हुने कानुनी तथा आर्थिक दायित्वसमेत होटलले व्यहोर्नुपर्ने अवस्था आउने उनको भनाइ छ ।
उनले होटल व्यवसायीहरुले आजपनि क्यासिनोसम्बन्धी मुद्दा मामिला झेलिरहेको गुनासो पनि गरे । उनले क्यासिनोमा होटलले लगानी गर्न चाहेमा मात्र सेयर लिन पाउने व्यवस्था गर्नुपर्ने बताए ।
उनले शाहले प्रश्तावित विधेयकको दफा ४० मा क्यासिनोमा वैदेशिक संयुक्त लगानीलाई अनुमति दिने व्यवस्था गरिएको तर होटल व्यवसायको क्षेत्रललाई नगरिएकोप्रति गुनासो समेत गरे ।
सरकारले क्यासिनोको आम्दानीबाट २ प्रतिशत अनिवार्य रुपमा संस्थागत सामाजिक उत्तरदायित्वमा लागनी गर्नुपर्ने व्यवस्था गरेको भन्दै होटललाई समेत सामाजिक उत्तरदायित्वमा केही प्रतिशत खर्च गर्न पाउनुपर्ने उनले बताए ।
प्रश्तावित विधेयकले सगरमाथा आरोहण गर्न कम्तिमा सात हजार मिटरभन्दा अग्लो कुनै एउटा हिमालचुली आरोहण गरेकै हुनुपर्ने व्यवस्था समेत प्रश्ताव गरेको छ ।


प्रतिक्रिया दिनुहोस्