काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गर्ने मुद्दाहरूको न्युन सफलता दरप्रति चासो व्यक्त गरेका छन् ।
बिहीबार सिंहदरबारमा आयोजित राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै लामिछानेले त्यसले निर्दोष व्यक्तिहरूको जीवनमा पार्ने गम्भीर असरबारे चासो व्यक्त गरेका हुन् ।
भ्रष्टाचार नियन्त्रणका नाममा गरिने कानूनी कारबाहीले व्यक्तिको सामाजिक प्रतिष्ठा र वृत्तिविकासमा अपूरणीय क्षति पु¥याइरहेको बताए । सभापति लामिछानेले अख्तियारले दर्ता गर्ने मुद्दाहरूको सफलता दर न्युन हुनु ‘टिठलाग्दो’ रहेको टिप्पणी गरे ।
हालको कानूनी प्रावधानअनुसार मुद्दा दायर हुनासाथ राष्ट्रसेवक कर्मचारी वा जनप्रतिनिधिहरू स्वतः निलम्बनमा पर्ने र अदालतबाट सफाइ पाउँदा वर्षौँ बितिसक्ने हुँदा उनीहरूको व्यावसायिक र पारिवारिक जीवन ध्वस्त हुने उहाँले उल्लेख गरे। उनले वर्षौँको मेहनतबाट आर्जन गरेको सामाजिक प्रतिष्ठा र सार्वजनिक पद मुद्दाकै कारण गुम्ने अवस्थाको शोधभर्ना कसरी हुन्छ भनी प्रश्नसमेत गरे ।
कानून निर्माणका क्रममा यी मानवीय र व्यावहारिक पक्षहरूलाई विशेष ध्यान दिनुपर्नेमा उनले जोड दिए । लामिछानेले भ्रष्टाचारको तथ्याङ्कले केन्द्रभन्दा स्थानीय तहमा भयावह अवस्था देखाएको बताए। हाल बहस र अनुसन्धानको अधिकांश समय सिंहदरबार र केन्द्रिय राजनीतिमा केन्द्रित हुने गरेको उल्लेख गर्दै उनले तल्लो तहमा हुने भ्रष्टाचार नियन्त्रणका लागि ठोस योजना आवश्यक रहेको औँल्याए ।
उनले भ्रष्टाचार नियन्त्रणका लागि कानूनी सुधारसँगै अन्तर्राष्ट्रिय अभ्यासहरूलाई समेत मध्यनजर गर्दै अगाडि बढ्न समितिको ध्यानाकर्षण गराए ।


प्रतिक्रिया दिनुहोस्