नेपाल राष्ट्रिय बीमा अभिकर्ता सङ्घले भन्यो,‘नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले धेरै बदमासी गर्न थाल्यो’



काठमाडौँ । नेपाल राष्ट्रिय बीमा अभिकर्ता सङ्घले नेपाल बीमा प्राधिरकरण र बीमा कम्पनीहरूको मिलेमतोमा लाखौं बीमितलाई ठगि गर्ने गरेको आरोप लगाएको छ ।

आज काठमाडौँमा संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा बढी ठगी गर्ने गरेकोे अरोपसमेत उनीहरूले आरोप लगाएका छन् ।

सङ्घका अध्यक्ष राजेन्द्र अमात्यले बीमा कम्पनीहरुले लाखांै बीमितलाई ठगी गरिरहेको दाबी गरे । बीमितलाई बिमाङ्क दोब्बर दिने भनेर निकै कम रकम भुक्तानी गर्नेे गरेको तथा प्रति वर्ष प्रतिहजार ६५ रुपैयाँ बोनस दिने भनेर ३७ रुपैयाँ मात्रै दिने गरेको अमात्यले जानकारी दिए ।

विगतमा सोको विरुद्धमा अभिकर्ताहरुले आवाज उठाई ८ वर्षसम्म रु ६५ बोनस कायम गर्न सफल भएको तर पछिल्ला ५ वर्षमा अभिकर्ताहरूकोबिचमा विभाजन ल्याई बोनसलाई रु ५० झारेको अमात्यको भनाई छ । कम्पनीहरूका वित्तीय प्रगतिका सुचकाङ्क बढ्ने तर बीमितलाई दिइने बोनस बढ्नुको सट्टा घट्नुले बीमाप्रति जनसाधारणको धारणामा नकारात्मक बन्दै गएको उनले बताए ।

“हामीले आजसम्म यो विषय बाहिर ल्याएका थिएनौँ तर अब ल्याउन बाध्य भयौँ, किनकी अग्रणि ‘नेपाल लाईफ ईन्स्योरेन्स कम्पनि’ले धेरै बदमासी गर्न थाल्यो” अध्यक्ष अमात्यको कथन छ ।

अमात्यले लाखौं बीमितलाई झुट्टा आस्वासन दिएर बीमा गर्न लगाउने र अबधी समाप्त भएपछि विभिन्न बहानामा अत्याधिक रकम कटाएर दिने गरेको जानकारी दिए । अभिकर्ताहरूले कम्पनीको ‘पोलिसी’ अनुसार बीमितलाई बीमा गर्न लगाउने हुँदा मारमा अभिकर्ता पर्ने गरेको बताए ।

“जनतको रकमलाई दुरुपयोग गरी नाफा कमाउने कम्पनी अनि समस्या जति अभिकर्ताको थाप्लो हाल्ने, कहिलेसम्म सहने” अमात्यले प्रश्न गरे ।
आफूहरूले विभिन्न समयमा नियामक निकाय नेपाल बीमा प्राधिकरण र बीमा कम्पनीहरुलाई खबरदारी गर्दा पनि नसुनेको बरु ज्यादी बढाएको उनको आरोप छ ।

सङ्घका महासचिव केशर बहादुर गरन्जाले नेपाल लाईफ इन्स्योरेन्सले भदौ ३ देखि ६ सम्म काठमान्डौ स्थित होटल याक एन्ड यतिमा आयोजित ‘लिडरसिप एक्सिलेन्स अवार्ड’ कार्यक्रममा अभिकर्ताहरूले कम्पनीको बदनियतको विरोध गरेपछि ज्यादती बढाएको जानकारी दिए ।

त्यहाँ कार्यरत अभिकर्ताहरूलाई दुव्र्यवहार गरिएको तथा साङ्गठनिक अधिकार खोज्दा पक्राउ गरिएको आरोप गरन्जाको छ । “६ सय उपस्थित भएको कार्यक्रममा ३ सय जना बाउन्सर किन चाहियो, तीनको खर्चको स्रोत के हो, आधिकारीक सङ्गठनमाथि पूर्वाग्रही बन्नु पर्ने कारण के” गरन्जाले प्रश्न गरे ।

वर्षभरि मेहनत गरी प्रथम बिमाशुल्क सङ्कलनमा योगदान पु¥याएका अभिकर्ताहरूलाई सम्मानका लागि बोलाइएको कार्यक्रममा उल्टै उनीहरूमाथि दुव्र्यवहार गरेको भन्दै गरन्जाले रोष व्यक्त गरे ।

“बाउन्सर लगाएर कुटपिट, लछारपछार, गल्हत्याउने मात्रै गरिएन राज्य शक्तिको दुरुपयोग गरी प्रहरीले सङ्घको नेपाल लाईफ अध्यक्ष कृष्णप्रसाद आचार्य र इमाडोल शाखा समिति अध्यक्ष शुभचन्द्र शाहलाई गिरफ्तार गरिनु घोर निन्दनीय कार्य हो” गरन्जाको कथन छ ।

उनले नेपालको संविधान, प्रचलित कानुन अनुसार श्रम विभागमा विधिवत् दर्ता भएको ट्रेड युनियनका नेतृत्वलाई अपमान गरिएको आरोप लगाए ।

कार्यक्रममा एउटा सङ्घलाई काखि च्यापरेर अर्को सङ्घलाई उपेक्षा गरी ऐन कानुनको समेत धज्जि उडाएको गरन्जाको धाराणा छ ।

अभिकर्ताहरूबिच विभाजन ल्याई बीमितको बोनस घटाउने तथा इन्स्योरेन्स कम्पनीभित्रका वेथिति विरुद्ध उठेका आवाजहरुलाई कमजोर पार्ने षड्न्त्र भएको गरन्जाको दाबी छ ।