राष्ट्र बैंकको नयाँ व्यवस्थाले बैंकिङ पहुँच बाहिरका उपभोक्तासम्म पुग्न सहज हुने


काठमाडौँ । नेपाल राष्ट्र बैंकले २०८३ साउन २६ गते जारी गरेको ‘हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवम् प्रक्रियागत व्यवस्था–२०८३’ लाई एसोसिएसन अफ हायर पर्चेज कम्पनीज अफ नेपाल स्वागत गरेको ।

नयाँ व्यवस्थाले हायर पर्चेज कम्पनीहरूले नेपालको वित्तीय क्षेत्रमा निर्वाह गर्दै आएको भूमिकाको यथोचित पहिचान गर्नुका साथै बैंक तथा अन्य वित्तीय संस्थाको पहुँचभन्दा बाहिर रहेका आम उपभोक्ता तथा व्यवसायीलाई वित्तीय सेवामा जोड्न थप सहज वातावरण निर्माण गर्ने एशोसिएशनले विश्वास लिएको छ ।

नेपाल राष्ट्र बैंकले नयाँ निर्देशिका मार्फत आफ्ना ग्राहकसँग १ प्रतिशत सेवा शुल्क लिन पाउने प्रावधान ल्याएर हायर पर्चेज कम्पनीहरुको ‘स्टेविलिटी’मा सहयोग गरेको छ । अर्कोतर्फ, स्प्रेडको समस्यालाई सम्बोधन गरेको छ । जसले दिर्घकालको लागि कम्पनीहरुलाई फाइदा पुग्छ ।

कम्पनीको दीर्घकालीन नवीकरण अवधि १० वर्ष कायम गर्ने ब्यवस्थाले हायर पर्चेज कम्पनीको संस्थागत स्थायित्व तथा लगानीको वातावरणमा सकारात्मक प्रभाव पार्ने एशोसिएशनको विश्वास छ ।

हाल नेपालमा नेपाल राष्ट्र बैंकबाट अनुमति लिएर १० वटा हायर पर्चेज कम्पनी सञ्चालनमा छन् । ती कम्पनीहरूले मोबाइल फोन, होम अप्लाइन्सेर, विद्युतीय उपकरणदेखि मोटरसाइकल, रिकन्डिसनमा उपलब्ध सवारीसाधन, हेभी इक्विपमेन्टलगायत विभिन्न वस्तु तथा उपकरण खरिदका लागि कर्जा उपलब्ध गराउँदै आएका छन् ।

एसोसिएसन अफ हायर पर्चेज कम्पनीज अफ नेपालका अध्यक्ष विष्णुकुमार अग्रवालका अनुसार हायर पर्चेज कम्पनीको मूल उद्देश्य नै बैंक तथा अन्य वित्तीय संस्थाबाट सहज रूपमा कर्जा प्राप्त गर्न नसक्ने उपभोक्तालाई वित्तीय पहुँचमा ल्याउनु हो ।

“सवारीसाधन, मोटरसाइकल वा हेभी इक्विपमेन्ट जस्ता साधनमा लगानी गर्न बैंकबाट सहजै कर्जा पाउने अवस्था थिएन । सहकारीबाट कर्जा पाए पनि प्रक्रिया सहज थिएन । त्यही अवस्थालाई सम्बोधन गर्न सरकारले हायर पर्चेज कम्पनीका लागि नियमावली ल्याएको थियो,” अध्यक्ष अग्रवालले भने ।

पछिल्लो समय हायर पर्चेज कम्पनीको सेवा सवारीसाधन र हेभी इक्विपमेन्टमा मात्रै सीमित छैन । अहिले हायर पर्चेज कम्पनीहरूले १० हजार रूपैयाँ पर्ने इलेक्ट्रोनिक सामानदेखि वासिङ मेसिनसम्ममा कर्जा दिइरहेका छन् । बैंकबाट कर्जा लिने वातावरण नभएका उपभोक्ताका लागि यसले निकै सहज बनाइरहेको छ ।

हायर पर्चेज कम्पनीहरूले कमर्शियल सवारीसाधनका चालक तथा व्यवसायी, साना उद्यमी र बैंकिङ प्रणालीमा सहज पहुँच नभएका उपभोक्तालाई कर्जा उपलब्ध गराउँदै नयाँ उद्यम तथा रोजगारी सिर्जनामा समेत योगदान गरिरहेको छ । सवारीसाधन तथा उपकरणमा लगानीमार्फत नागरिकको उत्पादकत्व र ‘एफिसेन्सी’ बढाउनुका साथै व्यापार–व्यवसाय विस्तारमा समेत हायर पर्चेज क्षेत्रको महत्वपूर्ण भूमिका रहेको एशोसिएशनको ठम्याई छ ।

राष्ट्र बैंकले नयाँ व्यवस्थामार्फत हायर पर्चेज कम्पनीलाई विभिन्न स्थानमा सम्पर्क कार्यालय खोल्न दिने व्यवस्था गर्नु सकारात्मक कुरा हो । यसले बैंक तथा वित्तीय संस्थाको पहुँच कम रहेका दूरदराजका क्षेत्रमा समेत हायर पर्चेज सेवा विस्तार गर्न सहयोग पुग्ने हाम्रो अपेक्षा छ ।

पछिल्लो १२ वर्षदेखि हायर पर्चेज कम्पनीहरू नेपाल राष्ट्र बैंकको नियमनमा रहेर सञ्चालन हुँदै आएका छन् । पुरानो निर्देशिकामा रहेका व्यावहारिक समस्यालाई समाधान गर्न नियामक निकायले नै कम्पनीहरूलाई संगठित भएर आफ्ना विषय उठाउन सुझाव दिएपछि एशोसिएशन बनेको हो ।

अहिले पनि कर्जा असुली प्रक्रियासँग सम्बन्धित केही विषय अझै स्पष्ट र व्यावहारिक बन्न सकेको छैन । गण्डकी, बागमती र लुम्बिनी प्रदेश भित्र लिलामीका साधन दर्ता गर्ने ब्यवस्था छैन । त्यसको समाधान खोज्नु पर्छ । अर्को कुरा वित्तिय क्षेत्रको ‘एक्सपर्ट’हरु रहेको ऋण असुली न्याधिकरणको सेवा हायर पर्चेज कम्पनीहरुले पनि उपभोग गर्न पाउने ब्यवस्था हुनुपर्छ ।

समग्रमा राष्ट्र बैंकको नयाँ व्यवस्थाले हायर पर्चेज कम्पनीलाई थप व्यवस्थित, दिगो र सेवामुखी ढंगले अघि बढ्न प्रोत्साहन गर्ने एशोसिएशनको निष्कर्ष छ ।

आगामी दिनमा हायर पर्चेज कम्पनीहरूले नेपाली उपभोक्ताको वित्तीय पहुँच विस्तार, उद्यमशीलता प्रवद्र्धन, रोजगारी सिर्जना तथा समग्र अर्थतन्त्रको विस्तारमा थप प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता समेत एशोसिएशनले व्यक्त गरेको छ ।