काठमाडौँ । सरकारले स्वास्थ्य बीमा कार्यक्रमको बजेट कटौती गरेको भन्ने चर्चा अस्वीकार गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षमा स्वास्थ्य बीमाका लागि १५ अर्ब रुपैयाँ विनियोजन गरिएको स्पष्ट पारेका छन्। उनका अनुसार अघिल्लो वर्षको तुलनामा यसपटक स्वास्थ्य बीमाको बजेट ५ अर्ब रुपैयाँले बढाइएको हो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वनस्थलीस्थित पार्टी कार्यालयमा आयोजना गरेको ‘नागरिक, नीति र नेतृत्व’ संवाद कार्यक्रममा सहभागी नागरिकका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले स्वास्थ्य बीमामा सरकारको वित्तीय दायित्व बढ्दै गएको बताए।
वाग्लेका अनुसार अघिल्लो सरकारले गत वर्ष स्वास्थ्य बीमाका लागि १० अर्ब रुपैयाँ छुट्याएको थियो। उक्त रकम कार्यक्रम सञ्चालनका लागि अपुग भएपछि आफू अर्थमन्त्री बनेपछि थप ११ अर्ब रुपैयाँको व्यवस्था गरिएको उनले बताए।
उनले चालु वर्षका लागि भने स्वास्थ्य बीमाको बजेट थप ५ अर्ब रुपैयाँ बढाएर १५ अर्ब रुपैयाँ पुर्याइएको जानकारी दिए।
तर, बजेट बढाउँदैमा मात्रै स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी भएको मान्न नसकिने उनको संकेत छ। सरकारले स्वास्थ्य बीमामा ठूलो रकम लगानी गरिरहे पनि त्यसअनुसार नागरिकले पर्याप्त स्वास्थ्य सेवा पाइरहेका छन् कि छैनन् भन्ने विषयमा समीक्षा आवश्यक रहेको वाग्लेले बताए।
स्वास्थ्य बीमामा सरकारको वित्तीय दायित्व निरन्तर बढिरहेको अवस्थामा खर्चको प्रभावकारिता पनि हेर्नुपर्ने अर्थमन्त्री वाग्लेको भनाइ छ।


प्रतिक्रिया दिनुहोस्