काठमाडाैँ । राष्ट्रिय सभा सदस्य एवं नेपाली कम्युनिष्ट पार्टीका सांसद विष्णुबहादुर विश्वकर्माले वर्तमान सरकार जनअपेक्षा पूरा गर्न पूर्णतः असफल भएको आरोप लगाएका छन् ।
शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा सांसद विश्वकर्माले सरकारले सुशासन र समृद्धिको नारा दिएपनि व्यवहारमा जनताले सास्ती मात्र पाएको दाबी गरे । उनले नयाँ शक्ति र वर्तमान सरकारले निर्वाचनका बेला गरेका प्रतिवद्धताहरू केवल प्रचारबाजीमा सिमित भएको टिप्पणी गरे ।
सांसद विश्वकर्माले सरकारको कार्यकालमा मानवअधिकार र संविधानको उल्लङ्घनका घटना बढेको उल्लेख गर्दै ११ जना सुकुम्बासीको मृत्यु, ५ जना युवाको आत्मदाह र जनताको उठिबास हुनुलाई ‘नयाँ सुशासन’ को संज्ञा दिँदै व्यङ्ग्य गरे । उनले देशको अर्थतन्त्र धराशायी बनेको र मुख्य सूचक मानिने सेयर बजारको अवस्था निकै चिन्ताजनक रहेको बताए । लगानीकर्तामा विश्वास जगाउन नसक्दा पुँजी पलायन शुरु भएको र यसले रोजगारी तथा राजश्वमा गम्भीर धक्का पुग्ने उनको भनाइ छ ।
प्रधानमन्त्रीको कार्यशैलीप्रति आपत्ति जनाउँदै सांसद विश्वकर्माले देश प्रधानमन्त्री र उहाँको सचिवालयको सामाजिक सञ्जाल (स्ट्याटस) को भरमा चलेको टिप्पणी गरे । सरकार सदन र जनताप्रति उत्तरदायी हुनुपर्नेमा कुनै निश्चित प्रभुप्रति उत्तरदायी देखिएको उनले आरोप लगाए । प्रधानमन्त्रीले आफ्नो विवादास्पद अभिव्यक्ति सच्याउन तयार नभएको उल्लेख गर्दै उहाँले प्रधानमन्त्री स्वयं असफल भइसकेको दाबी समेत गरे ।


प्रतिक्रिया दिनुहोस्