काठमाडौँ । ई. सैलेश आचार्यको पुस्तक ‘शब्दले संसार बदल्छ, डी कोडिङ द वर्डस्’ सार्वजनिक भएको छ । इन्जिनियरिङ र व्यवस्थापन क्षेत्रका अनुभवी व्यवसायी तथा नेतृत्वदायी व्यक्तित्व ई. आचार्यको पुस्तक शिखा बुक्सद्वारा प्रकाशित र ज्ञान ज्योति बुक्स पब्लिकेसन प्रा.लि.द्वारा वितरित भएको हो ।
सफ्टवेयर इन्जिनियरिङको प्राविधिक ज्ञान र व्यवस्थापकीय सीपलाई एकै ठाउँमा मिसाएका आचार्यसँग सरकारी बैङ्किङ सेवादेखि नेपालका प्रतिष्ठित व्यावसायिक संस्थाहरूको नेतृत्व सम्हालेको पन्ध्र वर्षभन्दा लामो अनुभव छ।
सन् २०६७ मा ‘सैलेश किचन कर्नर’ नामक सानो व्यवसायबाट आफ्नो उद्यमशीलताको बीउ रोपेका उनी, आज आरकेडी होल्डिंग्स लिमिटेड, टुरिजम इन्भेस्टमेन्ट फन्ड लिमिटेड, क्राउन रिजर्भ डिस्टिलरीका सञ्चालक र नेपालको अग्रणी आईटी कम्पनी बिजबजार लिमिटेडको सञ्चालक समितिका अध्यक्षका रूपमा हजारौँलाई नेतृत्व प्रदान गरिरहेका छन्।
राष्ट्रिय वाणिज्य बैङ्कमा कार्यरत रहँदा उनले प्रविधि र पैसा मात्र नभई मानिस र मानसिकताको गहिरो अध्ययन गरेका थिए। सो क्षेत्रको अनुभव, सङ्घर्ष र सफलताको निचोड नै यस पुस्तकको आधारशिला बनेको छ। ‘सफलता कुनै जादु होइन, यो त सही शब्द र सही बानीको इन्जिनियरिङ हो,’ भन्ने आचार्यको दर्शन नै यस पुस्तकको मूल सन्देश हो।
लेखकको पन्ध्र वर्षभन्दा लामो व्यावसायिक यात्रा, सङ्घर्ष र असफलतापछिको साहसलाई यस पुस्तकको आधार बनाइएको छ। सफ्टवेयर इन्जिनियर र बैङ्किङ क्षेत्रको कर्मचारीबाट सुरु भई आज विभिन्न व्यावसायिक संस्थाहरूको नेतृत्वदायी भूमिकामा पुगेका आचार्यले आफ्नो अनुभवलाई एउटा सरल तर शक्तिशाली सिद्धान्तमा बुनेका छन् ।
यस पुस्तकलाई लेखकले व्यावसायिक लगानी, कानुनी सल्लाह वा चिकित्सा परामर्शको विकल्पका रूपमा नभई प्रेरणा, शिक्षा र व्यक्तिगत विकासको उद्देश्यले लेखिएको स्पष्ट पारेका छन्।
‘शब्दले संसार बदल्छ, डिकोडिङ द वर्डस्’ हाल विभिन्न पुस्तक पसलका साथै अनलाइनमार्फत विजबजार र शिखा बुक्सबाट खरिद गर्न सकिने जनाइएको छ, जहाँ पाठकहरूले आकर्षक छुटसमेत पाउनेछन्। पुस्तकको मूल्य ४२५ रूपैयाँ रहेकाे छ ।


प्रतिक्रिया दिनुहोस्