काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले निजी क्षेत्रप्रति सरकारको अविश्वासका कारण व्यवसायीको आत्मविश्वास इतिहासकै कमजोर अवस्थामा पुगेको बताएका छन्।
आइतबार इक्यानको ‘नीतिगत संवाद’मा बोल्दै उनले निजी क्षेत्रलाई शंकाको दृष्टिले हेर्ने प्रवृत्तिले लगानी, उत्पादन र रोजगारी प्रभावित हुने चेतावनी दिए।
श्रेष्ठले उद्योग चलाउने सरकारी प्रयासलाई सकारात्मक रूपमा लिन सकिने भए पनि निजी क्षेत्रलाई कमजोर बनाउने नीति स्वीकार्य नहुने बताए।
उनका अनुसार औद्योगीकरणका लागि एउटा–दुई उद्योगमा केन्द्रित हुनुभन्दा कच्चा पदार्थ, वित्त, कर, बजार र आपूर्ति शृंखलासहितको समग्र औद्योगिक इकोसिस्टम आवश्यक छ।
‘पहिले निजी क्षेत्रलाई विश्वास गर्नुपर्छ, त्यसपछि मात्र आत्मविश्वास बढ्छ,’ श्रेष्ठले भने।
सरकार र निजी क्षेत्रबीच विश्वासको वातावरण पुनःनिर्माण नगरेसम्म लगानी र आर्थिक विकासले अपेक्षित गति लिन नसक्ने उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस्