काठमाडाैँ । नेपाल पर्वतारोहण संघले आठ हजार मिटरभन्दा अग्ला थप ६ वटा हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रक्रिया अघि बढाएको जनाएको छ ।
सगरमाथा आरोही संघको २५ औँ वार्षिकोत्सवका अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै संघका अध्यक्ष फुर गेल्जे शेर्पाले यस्तो जानकारी दिएका हुन् । उनले थप ६ वटा हिमालको अन्तर्राष्ट्रिय मान्यताका लागि आवश्यक काम अन्तिम चरणमा पुगेको जानकारी दिए ।
उनकाअनुसार यो प्रक्रिया सफल भए आठ हजार मिटरभन्दा अग्ला हिमालको संख्या २० पुग्ने । जसमध्ये आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल नेपालमै हुने उनको भनाइ छ । उनले नेपालको पर्वतीय पर्यटन विश्वकै उत्कृष्ट गन्तव्यका रूपमा विकास हुँदै गएको उल्लेख गर्दै यसमा सरकार, पर्वतारोहणसम्बन्धी संघसंस्था तथा सरोकारवालाको संयुक्त योगदान रहेको रहेको समेत बताए ।
अध्यक्ष शेर्पाले सगरमाथा आरोही संघ र नेपाल पर्वतारोहण संघबिच नङ र मासुको जस्तो सम्बन्ध रहेको बताउँदै नेपाल पर्वतारोहण संघ स्थापनाकालदेखि नै देशको पर्वतारोहण क्षेत्रको विकासमा सक्रिय रहेको उल्लेख गरे । नेपाल सरकारले जारी गर्ने हिमाल तथा चुचुरोको सूची तयार पार्न समेत नेपाल पर्वतारोहण संघको भुमिका रहेको उनले बताए ।
यसअघि पर्यटन विभागले आफ्नो पिक–प्रोफाइलमा थप्दै ल्होत्से सार (८,४०० मिटर) र ल्होत्से सेन्टर (८,४१० मिटर)लाई आधिकारिक मान्यता दिइसकेको छ । साथै ताप्लेजुङस्थित कञ्चनजंघा क्षेत्रमा चारवटा नयाँ शिखर पहिचान भएका छन् । जसमा कञ्चनजंगा सेन्टर (८,४७३ मिटर), कञ्चनजंगा साउथ (८,४७६ मिटर), यालुङखाङ (८,५०५ मिटर) र यालुङखाङ वेस्ट (८,०७७ मिटर) रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्