सार्वजनिक प्रशासन फाइलसँग खेल्ने कोठा मात्र होइन, नागरिकको जीवनसँग जोडिएको विषय होः रामेश्वर खनाल


काठमाडाैँ । पूर्वअर्थसचिव एवं पूर्वमन्त्री रामेश्वर खनालले सार्वजनिक प्रशासन केवल कर्मचारी र फाइलबीचको प्रक्रिया मात्र नभई लाखौँ सेवाग्राहीको जीवनसँग प्रत्यक्ष जोडिएको गम्भीर विषय भएको बताएका छन् । 

सोमबार काठमाडौँमा आयोजित ‘हेमबहादुर मल्ल सम्मान’ ग्रहण गर्दै उनले सो धारणा राखेका हुन् । नेपाल प्रशासन सङ्घद्वारा आयोजित उक्त सम्मान कार्यक्रममा खनालले प्रशासनिक ढिलासुस्ती र भोलि आउनुस् भन्ने प्रवृत्तिका कारण नागरिकले सास्ती खेप्नुपरेको उल्लेख गरे । उनले राज्यको कमजोर प्रशासन र अवसरको अभावकै कारण देशका लाखौँ युवा श्रम बेच्न खाडी र मलेसिया जान बाध्य भएको टिप्पणी गरे । 

उनले भने, “दुर्गमका बालबालिका शिक्षाबाट वञ्चित हुनु र युवाहरू परदेशिनुमा हाम्रो प्रशासनिक प्रणालीको पनि कमजोरी छ । जबसम्म गाउँका बालबालिका अवसरबाट वञ्चित हुन्छन् र युवाहरू जीविकोपार्जनका लागि विदेशिन बाध्य हुन्छन्, तबसम्म हामीले आफ्नो जिम्मेवारी पूरा भएको मान्न मिल्दैन ।”

सार्वजनिक प्रशासनको मुख्य दायित्व संयोगलाई प्रणालीमा रूपान्तरण गर्नु रहेको बताउँदै खनालले व्यक्तिको भविष्य जन्मस्थान वा सामाजिक परिवेशले नभई अवसरको समान पहुँचले निर्धारण गर्नुपर्नेमा जोड दिए ।