भोटेकोशी बाढीको जोखिमपछि गल्छीमा काठमाडौँ–मुग्लिन सडकका सवारी रोकिए


काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको ठूलो बाढी त्रिशूली नदी हुँदै धादिङको गल्छी आसपास पुगेपछि काठमाडौँ–मुग्लिन सडकखण्डमा आवागमन प्रभावित भएको छ। बाढीको जोखिमलाई मध्यनजर गर्दै काठमाडौँबाट बाहिरिने सवारीसाधनलाई गल्छीलगायत सुरक्षित तथा अग्ला स्थानमा रोकिएको छ।

बाढीको बहाव बढ्दै गएपछि पृथ्वी राजमार्गसहित काठमाडौँ–मुग्लिन सडकखण्डमा सवारी आवागमन रोकिएको हो। सम्भावित जोखिमबाट यात्रु तथा सवारीसाधनलाई जोगाउन ट्राफिक प्रहरीले विभिन्न स्थानमा सवारीसाधन होल्ड गरेको जनाएको छ।

रसुवाबाट आएको बाढी त्रिशूली नदी हुँदै धादिङको गल्छी आसपाससम्म पुगेको र आगामी केही घण्टामा मुग्लिन क्षेत्र पार गर्ने पूर्वानुमान गरिएको छ। बाढीका कारण त्रिशूली नदी तटीय क्षेत्र, पृथ्वी राजमार्ग तथा मुग्लिन–नारायणगढ सडकखण्डमा जोखिम बढेको भन्दै सम्बन्धित निकायले अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह गरेका छन्।

बाढीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै धादिङको गल्छी, मलेखुलगायत त्रिशूली नदी आसपासका बस्तीमा उच्च सतर्कता अपनाइएको छ। जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने तथा सुरक्षा निकाय र विपद् व्यवस्थापनका टोलीलाई परिचालन गर्ने काम भइरहेको छ।

यसअघि गृह मन्त्रालयले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको थियो। मन्त्रालयले पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेँसी सडक तथा मुग्लिन–नारायणगढ सडकमा आवतजावत रोक्नसमेत अनुरोध गरेको थियो।