वन तथा कृषि उद्यमलाई लगानी र बजारसँग जोड्न ‘म्याचमेकिङ’ कार्यक्रम सम्पन्‍न, महिला उद्यमशीलता प्रवर्धन गर्न १०० करोडको ‘सिम्रिक नारी फण्ड’ घोषणा


काठमाडौँ । महिला नेतृत्वमा रहेका उद्यमलाई लगानी, बजार र वित्तीय अवसरसँग जोड्ने उद्देश्यले १०० करोड रुपैयाँको ‘सिम्रिक नारी फण्ड’ घोषणा गरिएको छ।

वन तथा कृषि सुविधा (एफएफएफ) को आयोजनामा बुधबार राजधानीमा सम्पन्न ‘म्याचमेकिङ तथा बिजनेस पिचिङ’ कार्यक्रममा आद्यन्त फण्ड म्यानेजमेन्टका अध्यक्ष मनोज पौडेलले उक्त फण्ड घोषणा गरेका हुन्।

नेपालमा वन तथा कृषिमा आधारित उद्यमलाई बजार पहुँच, लगानी र वित्तीय अवसरसँग जोड्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा सरकारी निकाय, निजी क्षेत्र, वित्तीय संस्था र विकास साझेदारबीच सहकार्य विस्तारबारे छलफल भएको थियो।

कार्यक्रममा कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले दिगो उद्यम विकास र ग्रामीण जीविकोपार्जनका लागि कृषि–वन प्रणाली (एग्रोफरेस्ट्री) को विकासमा सरकार प्रतिबद्ध रहेको बताइन्। उत्पादनसँगै बजार, लगानी र वित्तीय संस्थासँगको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै उनले उत्पादक संस्था, निजी क्षेत्र र वित्तीय संस्थाबीचको साझेदारी थप बलियो बनाउनुपर्नेमा जोड दिइन्।

फएओ नेपालका सहायक प्रतिनिधि (कार्यक्रम) तथा निमित्त प्रतिनिधि अरुण जीसीले एफएफएफ कार्यक्रम तेस्रो चरणमा प्रवेश गरिसकेकाले अब उद्यमको दिगोपना र व्यावसायिक विस्तार मुख्य चुनौती रहेको बताए।

उनले अनुदानले उद्यम सुरु गर्न सहयोग गरे पनि त्यसलाई व्यावसायिक रूपमा विस्तार गर्न निजी क्षेत्रको लगानी आवश्यक रहेको बताए। एफएओले नेपालमा ७५ वर्षदेखि काम गरिरहेको उल्लेख गर्दै जीसीले उत्पादक संस्थालाई प्रतिस्पर्धी र मूल्य अभिवृद्धि गर्ने उद्यमका रूपमा विकास गर्न बजार र वित्तीय पहुँच विस्तार गर्नुपर्नेमा जोड दिए।

उनका अनुसार एफएफएफले नेपालका ५० भन्दा बढी उत्पादक संस्थालाई २३ लाख अमेरिकी डलरभन्दा बढी अनुदान उपलब्ध गराइसकेको छ। उनले उद्यमीलाई सहयोग गर्न ‘इनोभेसन भाउचर’को अवधारणा ल्याइएको जानकारी दिँदै निजी क्षेत्रलाई उद्यमको आकारसँगै त्यसको सम्भावना र सामुदायिक स्वामित्वलाई समेत आधार बनाएर लगानी गर्न आग्रह गरे।

आद्यन्त फण्ड म्यानेजमेन्टका अध्यक्ष पौडेलले नेपालको वित्तीय प्रणालीमा पर्याप्त बचत भए पनि त्यसलाई उत्पादनशील क्षेत्रमा लगानीमा रूपान्तरण गर्न चुनौती रहेको बताए। महिला नेतृत्वमा रहेका उद्यमलाई लक्षित गर्दै घोषणा गरिएको ‘सिम्रिक नारी फण्ड’ महिला नेतृत्व र व्यवस्थापनमा सञ्चालन हुने नेपालकै पहिलो ‘जेन्डर लेन्स इक्विटी फण्ड’ हुने दाबी उनले गरे। फण्डले उद्यमीलाई पूँजीसँगै बजार र विशेषज्ञता उपलब्ध गराउने उनले बताए।

राष्ट्रिय योजना आयोगका सदस्य डा. पुकार मल्लले नेपालको करिब ४६ प्रतिशत भूभाग वन क्षेत्रले ओगटेको उल्लेख गर्दै वन क्षेत्र आर्थिक रूपान्तरणको महत्वपूर्ण आधार बन्न सक्ने बताए।

पाल्पाकी उद्यमीले उत्पादन गरेको ढाकाको वेस्टकोट प्रदर्शन गर्दै उनले ग्रामीण महिलामा रहेको नवप्रवर्तन र उद्यमशीलताको उपयोग गर्नुपर्नेमा जोड दिए। सन् २०५० सम्म नेपालमा आवश्यक पर्ने ६० लाख रोजगारी सिर्जना गर्न कफी, मह र जडीबुटीजस्ता वन तथा कृषिजन्य उत्पादनको मूल्य शृंखला बलियो बनाउनुपर्ने उनले बताए।

डा. मल्लले सरकारले ‘राष्ट्रिय महिला उद्यम रणनीति’ र ‘राष्ट्रिय स्याहार अर्थतन्त्र नीति’ निर्माण गरिरहेको जानकारी दिए। साथै, ‘स्टार्टअप फास्ट ट्र्याक’मार्फत उद्यमीलाई सहयोग गर्ने योजना रहेको उनले बताए।

मन्त्रालयकी उपसचिव दीपा ओलीले पछिल्लो दुई वर्षमा एफएफएफमार्फत ३५ भन्दा बढी उद्यमलाई सहयोग गरिएको बताइन्। यसपटक आदिवासी जनजाति तथा महिला समूहका उद्यमीका लागि लगानी योजना तयार गरी बजारसँग जोड्ने लक्ष्य राखिएको उनले जानकारी दिइन्।

कार्यक्रममा साइलेज, जैविक मल, आवश्यक तेल र कफी क्षेत्रका चार उद्यमले सम्भावित लगानीकर्तासमक्ष आफ्नो व्यावसायिक योजना प्रस्तुत गरेका थिए।

एफएफएफकी कन्ट्री कोच सोफी ग्रोउवेल्सले उद्यमीलाई प्राविधिक तथा वित्तीय रूपमा सक्षम बनाउन सबै सरोकारवाला मिलेर काम गर्नुपर्नेमा जोड दिइन्।

कार्यक्रममा व्यवसाय विकास, लगानीका लागि पूर्वतयारी तथा वन तथा कृषि उद्यमका लागि आवश्यक वित्तीय मोडलका विषयमा दुई वटा ज्ञान आदानप्रदान सत्रसमेत सञ्चालन गरिएको थियो।