रसुवा बाढीः उद्धार र राहतमा तिब्रता दिन सभामुखको आग्रह


काठमाडाैँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण उत्पन्न परिस्थितिलाई दृष्टिगत गर्दै प्रतिनिधि सभाको बुधवारको बैठक स्थगित गरिएको छ । 

बैठकमा सभामुख डोलप्रसाद अर्यालले बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उद्धार र राहत कार्यमा केन्द्रित हुन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सभामुख अर्यालले विपद्को यस कठिन घडीमा घाइतेहरूको शिघ्र उद्धार तथा उपचार, बेपत्ताहरूको खोजी र प्रभावित एवं विस्थापितहरूलाई तत्काल राहत उपलब्ध गराउन सरकारलाई निर्देशन दिए ।

उनले यस कार्यमा आवश्यक समन्वय र सहयोगका लागि निजी क्षेत्र, गैरसरकारी निकाय तथा नागरिक समाजलाई समेत अपिल गरेका छन् । 

उनले भने, “यस दुःखद् घडीमा राज्यका सम्पूर्ण संयन्त्रहरू उद्धार, राहत र प्रभावित नागरिकको सहयोगमा जुट्नुपर्ने आवश्यकता देखिएको छ ।”

बाढीका कारण उत्पन्न सङ्कटलाई ध्यानमा राखी बुधवारको कार्यसूचीमा रहेका सम्पूर्ण कार्यक्रमहरू हटाइएको संसद् सचिवालयले जनाएको छ । प्रतिनिधि सभाको अर्को बैठक बिहीवार दिनको १ बजे बस्ने गरी स्थगित गरिएको छ ।