काठमाडौँ । सरकारले विपद् प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई तीव्र बनाएको जनाएको छ। प्रधानमन्त्री बालेन शाहले बाढी प्रभावित क्षेत्रमा अत्यावश्यक सहयोग सामग्रीहरू द्रुत रूपमा पुर्याउने काम भइरहेको जानकारी गराएका छन् ।
उनका अनुसार आज बिहान ६ :३० बजेदेखि उद्धारका लागि उडान सुरु गरिएको छ भने बिहानदेखि हालसम्म १५ भन्दा बढी उडान भइसकेका छन्। थप हेलिकोप्टरसमेत उद्धारका लागि तयारी अवस्थामा राखिएको छ ।
प्रधानमन्त्री शाहले नेपाली सेनाले आज बिहान रसुवाको टिमुरेमा सञ्चालन गरेको उद्धार अभियानबाट ११६ जनाको सकुशल उद्धार गरिएको जानकारी दिए । उद्धार गरिएकामध्ये ९५ जना नेपाली र २१ जना भारतीय नागरिक रहेका छन्। यस्तै, टनेलबाट सात जना नेपाली नागरिकलाई उद्धार गरिएको छ।
प्रधानमन्त्री शाहले विपद् प्रभावित क्षेत्रमा अत्यावश्यक सहयोग सामग्री पुर्याउने कामसमेत तीव्र पारिएको जानकारी दिए । प्रभावित क्षेत्रमा जेनेरेटर, पोर्टेबल मोबाइल टावर, मेडिकल सामग्री, टेन्ट तथा फलाम–ढुङ्गा काट्ने मेसिनलगायत सामग्री समेत पठाइएको बताए।
सरकारले छिट्टै प्रभावित क्षेत्रमा मोबाइल नेटवर्क तथा मोबाइल चार्जिङको अस्थायी व्यवस्था गरिने जनाएको छ। यसबाट प्रभावित नागरिकबीच सम्पर्क स्थापित गर्न सहज हुने अपेक्षा गरिएको छ।
नुवाकोटमा अस्थायी शिविर तयार गरी खाना तथा पानीको व्यवस्था गरिएको छ। यस्तै, ड्रोनमार्फत प्रभावित क्षेत्रको सर्वेक्षण गरी सूचना सङ्कलन गर्ने काम पनि अन्तिम चरणमा पुगेको जनाइएको छ। प्राप्त विवरणका आधारमा उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाइने सरकारले जनाएको छ।
उद्धारका क्रममा हेलिकोप्टरबाट सिकिस्त बिरामी, वृद्धवृद्धा, महिला तथा बालबालिकालाई प्राथमिकता दिइने बताइएको छ। सरकारले प्रभावित नागरिकलाई धैर्य र संयम कायम राख्दै उद्धार तथा राहतको प्रतीक्षा गर्न आग्रह गरेको छ।
सरकारले यथाशीघ्र उद्धारका लागि राज्यका सम्पूर्ण संयन्त्र परिचालन गरिएको जनाउँदै विपद्को सामना गर्न सबैलाई एकजुट हुन आह्वान गरेको छ।


प्रतिक्रिया दिनुहोस्