भोटेकोसी बाढी प्रभावितका लागि एनसेल फाउन्डेसनकाे रु. १ करोड सहयोग


काठमाडौँ । रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढी प्रभावितका लागि एनसेलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ करोड आर्थिक सहयोग गर्ने घोषणा गरेको छ। 

बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखालगायतका तटीय क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको छ। सोही आधारमा सरकारको आह्वानअनुसार एनसेल फाउन्डेसनमार्फत यो सहयोग रकम उपलब्ध गराउन लागिएको हो। 

विपद्को समयमा सञ्चार सम्पर्क कायम राख्न बाढी प्रभावित क्षेत्रका ग्राहकलाई एनसेलले विशेष राहत दिएको छ। बुधबारदेखि लागू हुने गरी ३ दिनका लागि भ्वाइस र डेटा सेवा निःशुल्क गरिएको छ। ग्राहकहरूलाई १०० वटा निःशुल्क एसएमएस सुविधा पनि उपलब्ध गराइएको छ।

एनसेलकी कर्पोरेट कम्युनिकेसन डाइरेक्टर विशाखा लक्ष्मी खड्काका अनुसार कठिन समयमा प्रभावितको साथमा उभिनु सबैको साझा दायित्व हो। सरकारको उद्धार तथा पुनःस्थापना प्रयासमा सघाउन यो निर्णय गरिएको उनले बताइन्।

एनसेलले विगतका विपद्हरूमा जस्तै आगामी दिनमा पनि आवश्यकताअनुसार निरन्तर सहयोग जारी राख्ने प्रतिबद्धता जनाएको छ।