रसुवा बाढीः ३३ देशका ६ सय ४४ पर्यटक सम्पर्कविहीन


काठमाडाैँ । रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीका कारण सम्पर्कविहीन हुने आन्तरिक तथा वाह्य पर्यटकको संख्या ६ सय ४४ पुगेको छ । 

बिहीबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै नेपाल पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मत सिंह ऐरले यस्तो बताएका हुन् । उनले टुर एजेन्सीहरूले दिएको जानकारीअनुसार विभिन्न ३३ देशका पर्यटकहरु सम्पर्कविहीन अवस्थामा रहेको जानकारी दिए ।

उनकाअनुसार सम्पर्कविहीन हुनेमा सबैभन्दा धेरै भारतका १ सय ७८ जना छन् । अहिले सम्पर्कविहीन अवस्थामा रहेका नेपाली पर्यटकको संख्या १ सय २७ जना रहेको उनले जानकारी दिए । 

त्यसैगरी, अस्ट्रेलियाका ३५, मलेसियाका ५१, युकेका ३३, युएसएका ६५, क्यानडाका २५, युक्रेनका ५३ पर्यटक सम्पर्कविहीन भएको ऐरले बताए । उनले टुर अपरेटर, नेपाल प्रहरी, पर्यटन विभाग, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतका निकाय तथा राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणसँग समन्वय गरी खोज तथा उद्धार कार्य तीव्र बनाएको समेत जानकारी दिए। तिमुरे र सोभन्दा माथिल्लो क्षेत्रमा रहेका पर्यटकहरु अझै पनि सम्पर्कमा नआएको भन्दै खोजी कार्य भइरहेको उनकाे भनाइ छ ।

उहाँले भन्नुभयो, “पर्यटकहरू सम्पर्कविहीन भएको संख्या हिजोभन्दा आज बढ्दो छ । पछिल्लो जानकारी अनुसार ६ सय ४४ जना हराएका छन् । हामीलाई ती पर्यटकलाई सम्पर्कमा ल्याउने प्रयास गरिरहेका छौँ । सम्पर्कविहीन हुनेमा सबैभन्दा धेरै भारतका १ सय ७८ जना हुनुहुन्छ । सम्पर्कविहीन हुनेमा आन्तरिक पर्यटकहरु १ सय २७ जना हुनुहुन्छ । त्यसैगरी अस्ट्रेलियाका ३५, मलेसियाका ५१, युकेका ३३, युएसएका ६५, क्यानडाका २५, युक्रेनका ५३ लगायत ३३ वटा देशका पर्यटकहरु यसमा समावेश हुनुहुन्छ ।

भोटेकोशी बाढी सम्बन्धी खोज, उद्धारसम्बन्धी बोर्डले विभिन्न टुर अपरेटरहरूसँग जानकारी लिइराखेकाे जनाइएकाे छ ।

उनका अनुसार बोर्डले ट्राभल एजेन्सी र कम्पनीहरूसँगको समन्वयमा तथ्यांक संकलनको कार्य गरिरहेको छ । उक्त भीषण बाढीको मुख्य कारण नेपाल–चीन सिमानामा गएको हिम चट्टान पहिरो रहेको पाइएको छ ।

राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले स्याटेलाइट तस्वीरको अध्ययन यस्तो निष्कर्ष निकालेको हो । रसुवागढी नाकाबाट करिब २० किलोमिटर उत्तरपूर्वी सिमानामा हिम चट्टान पहिरो जाँदा ल्हेन्दे खोलामा गेग्य्रानसहित बाढी आएको र टिमुरे हुँदै त्रिशुलीमा प्रवेश गरेको प्राधिकरणले जनाएको छ ।