बाढी प्रभावितको उपचार र व्यवस्थापनमा काठमाडौँ महानगरको सक्रियता


काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते भई अस्पताल भर्ना भएका बिरामीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन् ।

कार्यवाहक प्रमुख डंगोलले त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) र राष्ट्रिय ट्रमा सेन्टर पुगेर घाइते तथा उनीहरूका आफन्तसँग भेटघाट गरेकी हुन । निरीक्षणका क्रममा उनले शिक्षण अस्पतालको ‘येल्लो जोन’ र आईसीयूमा उपचाररत बिरामीहरूको अवस्था बुझ्नुका साथै अस्पताल प्रशासनसँग आवश्यक समन्वयबारे छलफल गरिन् ।

सो अवसरमा उनले काठमाडौँ महानगरपालिका र नेपाल प्रहरीको समन्वयमा शिक्षण अस्पतालमा सञ्चालित बेपत्ता व्यक्तिहरूको विवरण संकलन एवं सम्पर्क केन्द्रको समेत अवलोकन गरिन्। अस्पतालका अधिकारीहरूसँगको छलफलमा शिक्षण अस्पतालले आकस्मिक कक्षमा प्रयोग हुने औषधिहरूको मौज्दात न्युन हुँदै गएको र तत्काल सहयोगको आवश्यकता रहेको जानकारी गराएको थियो ।

अस्पतालको मागप्रति सकारात्मक रहँदै कार्यवाहक प्रमुख डंगोलले औषधिको आपूर्तिमा महानगरले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

यसैगरी, ट्रमा सेन्टरको निरीक्षणका क्रममा परिवारका सदस्यहरू उपलब्ध नभएकी एक घाइते बालिकाको फेला परेको र उनको उचित संरक्षण तथा हेरचाहका लागि डंगोलले महानगरको सम्बन्धित विभागलाई तत्काल निर्देशन दिइन् ।

अस्पतालमा कुरुवा बसेका आफन्तहरूका लागि खानपान र बासस्थानको समस्या हुन सक्ने पक्षलाई दृष्टिगत गर्दै कार्यवाहक प्रमुख डंगोलले कोही पनि व्यक्ति खानपान र बासस्थानबाट वञ्चित हुन नपर्ने गरी व्यवस्था मिलाउन विभागीय टोलीहरूलाई निर्देशन दिएकी छन् । बिरामी र उनीहरूका सहयोगीका लागि आवश्यक परेको खण्डमा महानगरपालिकाले उचित आश्रय र भोजनको प्रवन्ध गर्ने उनले जानकारी दिए । न्युज एजेन्सी नेपाल