नेपालमा बाढीपहिरोबाट ४६९ जनाको मृत्यु, ९१० जना अझै बेपत्ता


काठमाडाैँ । नेपालमा हालैको बाढीपहिरोका कारण ज्यान गुमाउनेको संख्या ४६९ पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार प्रभावित क्षेत्रहरूबाट ४६९ जनाको शव निकालिएको हो ।

प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार बाढीपहिरोमा परी अझै ९१० जना व्यक्तिहरू बेपत्ता रहेका छन् । प्रभावित क्षेत्रहरूमा खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइएको छ । सुरक्षा निकाय र उद्धारकर्मीहरू बेपत्ताहरूको खोजी र शव संकलनका लागि सक्रिय रूपमा परिचालित छन् । 
यसैबिच, नेपाल पर्यटन बोर्डले प्रभावित क्षेत्रहरूबाट हालसम्म ३१ जना विदेशी नागरिकको सफल उद्धार गरिएको जानकारी दिएको छ । नेपाल प्रहरीले विपद् प्रभावित परिवारहरूलाई आफ्ना बेपत्ता सदस्यहरूको खोजी र पहिचानका लागि नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।

प्रहरीले बेपत्ता व्यक्तिको विवरण तथा आवश्यक जानकारी र सामग्री उपलब्ध गराई अनुसन्धानमा सहयोग पु¥याउन समेत पीडित परिवारसँग अनुरोध गरेको छ ।