नामियाले गर्यो पहिलो चरणमा ५ लाख बढी सहयोग घोषणा, सदस्यहरुबाट थप योगदान जारी 


काठमाडौं ।

नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया) ले भोटेकोशी बाढी पीडितको सहयोगार्थ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ५ लाख ११ हजार २३८ रुपैयाँ सहयोग घोषणा गरेको छ ।

रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीले पुर्‍याएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उद्धार तथा राहत कार्यका लागि मामिलाको तर्फबाट पहिलो चरणको  राहत घोषणा गरेको हो । 

संस्थाका सदस्यहरुलाई आव्हान गरेको र पहिलो चरणमा स्वतस्फूर्त रुपमा संकलित रकमको कोषमार्फत जम्मा गर्न चेक तयार रहेको महासचिव अर्जुन लुइँटेलले बताए । 

“विपतको घडीमा हाम्रा सदस्यले योगदान गर्ने क्रम जारी छ, पहिलो चरणको सरकारी खातामा सोमबार जम्मा गर्छौ, बाँकी क्रमशः गर्नेछौँ ।” 

चीनको तिब्बत क्षेत्रबाट भदौ १० गते आएको आकस्मिक बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्लाका तटीय क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुगेको छ।

आफ्ना स्थानीय सदस्यहरूलाई उद्धार तथा राहत टोलीसँग समन्वय गरी प्रत्यक्ष सहयोगमा जुट्न पनि आग्रह गरिएको र सदस्यहरुले सक्रिय रुपमा जुटिरहेको अध्यक्ष कृष्ण शर्माले बताए ।

संघ नेपालमा कृषि यन्त्र र प्रविधि व्यवसायमा संलग्न व्यवसायीहरूको छाता संगठन हो।