काठमाडौं । भोटेकोशी बाढीपहिरो प्रभावित क्षेत्रमा लेदो र दलदलका कारण बेपत्ताको खोजी कार्य कठिन बन्दै गएको छ। प्रभावित क्षेत्रका अस्पतालमा शवको चाप बढ्दै गएपछि शव सुरक्षित भण्डारण तथा व्यवस्थापनसमेत चुनौतीपूर्ण बनेको नेपाल प्रहरीले जनाएको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक (डीआईजी) अविनारायण काफ्लेका अनुसार उद्धार तथा खोजी कार्यका लागि आवश्यक विशेष उपकरण, फरेन्सिक विज्ञ तथा शव सुरक्षित राख्न आवश्यक ‘रेफ्रिजरेटिङ कन्टेनर’को अभाव देखिएको छ।
न्युज एजेन्सी नेपालसँग कुरा गर्दै डीआईजी काफ्लेले बाढीको लेदो र दलदलमा खोजी कार्य प्रभावकारी बनाउन विशेष बुट, १० वटा वायरलेस ट्र्याकिङ डिभाइस तथा १०० किलोसम्म भार बोक्न सक्ने ट्रान्सपोर्टेसन ड्रोन तत्काल आवश्यक रहेको बताए ।
घटनास्थलहरू दलदलयुक्त भएकाले सामान्य उपकरण र परम्परागत विधिबाट खोजी तथा राहत सामग्री ढुवानी गर्न कठिनाइ भइरहेको उनले स्पष्ट पारे ।
यसैबीच, काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ), पोखरा र चितवनका अस्पतालमा शवको चाप अत्यधिक बढेपछि सुरक्षित भण्डारणको समस्या देखिएको प्रहरीले जनाएको छ। शव बिग्रिन नदिन तत्काल रेफ्रिजरेटिङ कन्टेनर आवश्यक परेको डीआईजी काफ्लेले बताए ।
उनले भने, “शव बिग्रिन नदिनका लागि रेफ्रिजरेटिङ कन्टेनर धेरै जरुरी भएको छ। यस विषयमा हामीले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) सँग पहल गरिरहेका छौँ।”
प्रभावित जिल्लाहरूमा फरेन्सिक चिकित्सकको आवश्यकता पनि बढेको प्रहरीले जनाएको छ। लामो समयसम्म पहिचान खुल्न नसकेका शवको हकमा सरकारले हालै स्वीकृत गरेको नयाँ कार्यविधिअनुसार फरेन्सिक नमुना संकलन गरी सुरक्षित राख्ने र त्यसपछि व्यवस्थापनको प्रक्रिया अघि बढाइने डीआईजी काफ्लेले जानकारी दिए ।
भोटेकोशी बाढीपछि ठूलो मात्रामा लेदो र माटो थुप्रिएका कारण बेपत्ताको खोजी कार्य जटिल बनेको छ। यस्तो अवस्थामा आवश्यक विशेष उपकरण तथा प्राविधिक जनशक्तिको अभावले खोजी, उद्धार र शव व्यवस्थापन कार्यमा थप चुनौती थपिएको प्रहरीको भनाइ छ।
– न्युज एजेन्सी नेपाल


प्रतिक्रिया दिनुहोस्