रसुवा भोटेकोशी बाढी अपडेटः ७३४ जनाको मृत्यु, करिव २५ सय अझै बेपत्ता


काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको भीषण बाढी तथा विभिन्न जिल्लामा आएको बाढीपहिरोमा परी हालसम्म ७३४ जनाको मृत्यु भएको छ भने २ हजार ४९८ जना अझै सम्पर्कविहीन रहेका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बिहान ९ बजेसम्मको विवरणमा बाढीपहिरोमा परी ७३४ जनाको मृत्यु भएको पुष्टि भएको हो। सबैभन्दा बढी चितवनमा २५९ जनाको शव फेला परेको छ।

प्राधिकरणका अनुसार नवलपरासी पूर्वमा १८४, नवलपरासी पश्चिममा ८२, गोरखामा ५८, नुवाकोटमा ५२, धादिङमा ५०, तनहुँमा ३६ र रसुवामा १३ जनाको शव फेला परेको छ। फेला परेका शवमा विभिन्न मानव अङ्गसमेत रहेको प्राधिकरणले जनाएको छ।

सम्पर्कविहीन हुनेमा नेपाल प्रहरीका २७, नेपाली सेनाका ४५ र सशस्त्र प्रहरी बलका १३ जना छन्। त्यस्तै भन्सार तथा अध्यागमनका कर्मचारी, जलविद्युत् आयोजनाका ९३३ कामदार र ५८९ जना विदेशी नागरिक पनि सम्पर्कविहीन रहेको विवरण प्राप्त भएको छ।

रसुवा, नुवाकोट र मकवानपुरबाट ठूलो सङ्ख्यामा स्थानीय बासिन्दा बेपत्ता भएको प्राधिकरणले जनाएको छ।

उद्धारका क्रममा हालसम्म ८ हजार १८६ जनाको जीवितै उद्धार गरिएको छ। उद्धार तथा खोजी कार्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी १९ हजार ८९५ सुरक्षाकर्मी परिचालन गरिएको छ।

जलविद्युत् आयोजनाका सुरुङमा थुनिएका २७९ जना र २२७ जना विदेशी नागरिकको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। बाढीमा परी घाइते भएका २४२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

सरकारले प्रभावित क्षेत्रमा राहत वितरणलाई तीव्रता दिएको छ। रसुवा र नुवाकोटलाई १–१ करोड तथा धादिङलाई ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराइएको छ। प्रभावित १५ पालिकालाई कुल ६ करोड ७५ लाख रुपैयाँ विनियोजन गरिएको छ।

प्राधिकरणका अनुसार हालसम्म ३७ ट्रक खाद्य तथा गैरखाद्य सामग्री र हेलिकप्टरमार्फत सात उडान गरी अत्यावश्यक वस्तु प्रभावित क्षेत्रमा पुर्‍याइएको छ। उत्तरगया र धुन्चे क्षेत्रमा मात्रै दुई टन खाद्य सामग्री पठाइएको छ। सञ्चार सेवा अवरुद्ध भएका स्थानमा सञ्चार सेटसमेत पठाइएको छ।

पहिचान हुन नसकेका शवलाई विभिन्न जिल्लाका २१ अस्पतालमा सुरक्षित राखिएको छ। मृतकको पहिचानका लागि नेपाल प्रहरीले ‘डिजास्टर पोर्टल’ र प्राधिकरणले फेसबुक पेजमार्फत विवरण सार्वजनिक गरेको छ।

इन्धनतर्फ नुवाकोटका विभिन्न आयल स्टोरमा ३६ हजार लिटर डिजेल र २४ हजार लिटर पेट्रोल मौज्दात रहेको छ। हवाई इन्धनको मौज्दात १४ हजार लिटर रहेको र हालसम्म २५ हजार लिटर खपत भएको प्राधिकरणले जनाएको छ।

-न्युज एजेन्सी नेपाल