काठमाडाैँ । रसुवा बाढीका कारण सिर्जित राष्ट्रिय विपत्तिको सामना गर्न नेपाली काँग्रेसले आफ्नो सक्रियता बढाएको छ । विपद् व्यवस्थापनमा पार्टीको भुमिका र आगामी कार्ययोजनाबारे छलफल गर्न पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित बैठकमा काँग्रेसले सरकारसँगको समन्वय र सर्वदलीय सहकार्यलाई जोड दिएको हो ।
बैठकलाई सम्बोधन गर्दै सभापति गगनकुमार थापाले विपद्को यस घडीमा सबै राजनीतिक दलहरूबिच साझा प्रतिवद्धता व्यक्त भएको जानकारी दिए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) द्वारा आयोजित सर्वदलीय बैठकमा सहभागी भएपछि दलहरूबिच संसदभित्रै एउटा साझा संयन्त्र निर्माण गर्ने समझदारी बनेको उनले बताए । सो संयन्त्रलाई पूर्णता दिई तत्काल काम अघि बढाउन रास्वपा सभापतिसँग थप छलफल गरिने उनको भनाइ छ ।
विपद् व्यवस्थापनका लागि काँग्रेसले फिल्डमा समेत टोली परिचालन गरेको छ । पार्टीका संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, प्रमुख सचेतकसहितको टोलीले नुवाकोटका बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरी प्रधानमन्त्रीलाई नौ बुँदे ध्यानाकर्षण पत्र बुझाइसकेको छ ।
यस्तै, केन्द्रीय सदस्य मोहन आचार्यको संयोजकत्वमा गठित ‘विपद् समन्वय समिति’ ले रसुवा लगायतका क्षेत्रमा समन्वय गरिरहेको छ ।
सभापति थापाले विपद्को समयमा सरकारकै नेतृत्वलाई केन्द्रमा राखेर सहयोग गर्ने पार्टीको परम्परा रहेको उल्लेख गर्दै प्रधानमन्त्री राहत कोषमा सहयोग गर्ने घोषणा गरे ।
पार्टीका केन्द्रिय सदस्य, सांसद र देशभरका निर्वाचित जनप्रतिनिधिहरूबाट संकलित स्वेच्छिक रकम पार्टीको कोषमार्फत एकमुष्ट रूपमा प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने उनले जानकारी दिए । राहत वितरणमा दोहोरोपन नहोस् भन्नका लागि यस्तो प्रक्रिया अपनाइएको पार्टीले जनाएको छ ।
बैठकमा नुवाकोट, रसुवा र धादिङका स्थानीय नेताहरूका साथै नेपाल तरुण दलका प्रतिनिधिहरूले प्रभावित क्षेत्रको वस्तुस्थिति र देखिएका अभावका बारेमा जानकारी गराएका थिए । काँग्रेसले विपद्को यस अवस्थामा सरकारसँग निरन्तर सम्पर्कमा रही आवश्यक सहयोग उपलब्ध गराउने प्रतिवद्धता समेत दोहो¥याएको छ ।


प्रतिक्रिया दिनुहोस्