सरकारले राज्यको सामर्थ्य कब्जा गर्दा विपद् व्यवस्थापन प्रभावकारी भएनः अध्यक्ष ओली


काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले राज्यको सामथ्र्यमाथि एकाधिकार जमाउँदा विपद् व्यवस्थापन र उद्धार कार्य प्रभावकारी हुन नसकेको टिप्पणी गरेका छन् ।

आइतबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा रसुवाको बाढीपहिरो सम्बन्धी स्थलगत अनुगमन प्रतिवेदन बुझ्दै अध्यक्ष ओलीले सरकारको कार्यशैलीप्रति आलोचना गरेका हुन् ।

महासचिव शंकर पोखरेलले बुझाएको उक्त प्रतिवेदन ग्रहण गर्ने क्रममा अध्यक्ष ओलीले सरकार आम नागरिकका लागि ‘अदृश्य’ र ‘अगम्य’ भएको आरोप लगाए ।

सबै राजनीतिक दलहरूले विपद्लाई साझा समस्याका रूपमा लिएर सहयोगको प्रतिवद्धता जनाउँदा समेत सरकारले राजनीतिक जस लिने होडबाजी गरेको ओलीको भनाइ छ ।

अध्यक्ष ओलीले उद्धार कार्यमा विशेषज्ञता हासिल गरेका संस्थाहरूलाई समेत सरकारले परिचालन गर्न नदिएकोमा आपत्ति जनाए ।

विशेषगरी नेपाल पर्वतारोहण संघ जस्ता दक्ष संस्थाहरूलाई खोजी तथा उद्धारमा संलग्न हुन नदिइएको र निजी क्षेत्रका हेलिकप्टरहरू भाडामा लिएर प्रयोग गर्न समेत अवरोध सिर्जना गरिएको उनले उल्लेख गरे । सरकारले विज्ञहरूको दक्षता र क्षमताको मद्दत लिनुको सट्टा उनीहरूको सक्रियतामा रोक लगाएको उनको दाबी छ ।

अध्यक्ष ओलीले भने, “सरकारले राज्यको सामथ्र्य आफ्नो नियन्त्रणमा राखेर एक किसिमले अगम्य र अप्राप्य जस्तो व्यवहार ग¥यो । वास्तवमा प्रदेश र स्थानीय तहका सरकारसँग समन्वय गरेर काम गर्नुपर्दथ्यो । सबै राजनीतिक दलले यो साझा दुःख र राष्ट्रिय समस्या हो, श्रेयको होडबाजी होइन, संयुक्त प्रयासबाट समाधान खोज्नुपर्छ भनेका छन् । हाम्रो पार्टीले पनि सरकारलाई सहयोग गर्न तयार रहेको स्पष्ट रूपमा बताएको छ । तर सरकारले उपलब्ध साधनस्रोतको प्रभावकारी प्रयोग गर्न सकेन । हेलिकप्टर प्रयोग गरे पनि नेपाल माउन्टेनियरिङ एसोसिएसनजस्ता उद्धार कार्यमा दक्ष संस्थाहरूको सहयोग लिएन । उनीहरूलाई खोजी तथा उद्धारमा संलग्न गराइएन, हेलिकप्टर भाडामा लिएर परिचालन गर्ने अवसर पनि दिइएन । उनीहरूको दक्षता र अनुभवसमेत उपयोग गरिएन ।”

महासचिव शंकर पोखरेल नेतृत्वको टोलीले रसुवाको बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरी तयार पारेको प्रतिवेदन आइतबा अध्यक्ष ओलीलाई हस्तान्तरण गरेको हो ।–न्युज एजेन्सी नेपाल