विपद् : साहारा ग्यासले एभरेष्ट र सुगमका सिलिन्डर मकवानपुरमा भरेर काठमाडौँ पठाउने


काठमाडौँ । भोटेकोशीमा आएको बाढीपहिरोले सडक र पुलहरूमा पुगेको क्षतिसँगै कृष्णभीरमा समेत सडक भासिएपछि साहरा ग्यासले आफ्नो भगिनी कम्पनी एभरेष्ट ग्यास लिमिटेड र सुगम ग्यास उद्योग प्रालिका सिलिन्डरहरू मकवानपुरमा रिफिल गरेर काठमाडौँ र आसपासका जिल्लामा वितरण गर्ने भएको छ ।

कम्पनीले सडक अवरुद्धका कारण ग्यास अभाव नहुँन मकवानपुरमा ग्यास भरेर काठमाडौँ र आसपासका जिल्लामा वितरण गर्न अनुमति माग गर्दै पठाएको प्रस्तावमा नेपाल आयल निगमले अनुमति दिएको छ । तीन ओटै कम्पनी एसजी ग्रुप अन्तर्गतको हुन् । एभरेष्ट ग्यास काठमाडौँको चाल्नाखेल र सुगम ग्यास नौबिसे धादिङमा रहेका छन् । साहारा ग्यास मकवानपुरको बासामाडीमा छ ।

कृष्णभीरमा पहिरो गएपछि एभरेष्ट र सुगम ग्यासका बुलेट धादिङ र काठमाडौँ आउन सक्ने अवस्था छैन । यही अवस्थालाई मध्यनजर गर्दै साहरा ग्यास इन्डष्ट्रिज प्रालिले आफ्ना भगिनी संस्था सुगम र एभरेष्ट ग्यासका सिलिन्डरसमेत भरेर काठमाडौँ पठाउने व्यवस्थाका लागि नेपाल आयल निगमसँग अनुमति मागेको हो ।

साहरा ग्यासले निगमको एलपी ग्यास विभागलाई पठाएको पत्रमा भनिएको छ, “काठमाडौं, धादिङ तथा आसपासका जिल्लाहरूमा एलपी ग्यासको आवश्यकतालाई सहज रूपमा वितरण गर्नको लागि सुगम ग्यास उद्योग प्रा.लि. र एभरेष्ट ग्यास उद्योग लि. का एलपी ग्यास बुलेटको ग्यास यस साहरा ग्यास इन्डष्ट्रिज प्रा.लि.मा रिफिलको लागि अनुमति प्रदान गरि ग्यास वितरणमा सहजीकरण गरिदिन हुन यो निवेदन पेश गरेका छौँ ।”

त्रिशूली नदी कटानका कारण सडक मार्ग अवरुद्ध हुँदा काठमाडौं उपत्यका र आसपासका जिल्लामा ग्यास आपूर्तिमा दबाब बढ्न सक्ने जोखिम देखिएको छ ।

यसका लागि साहारा ग्यासले बैकल्पिक प्रस्ताव गरेको हो । सामान्य अवस्थामा एक कम्पनीको सिलिन्डर अर्को कम्पनीले भर्दैनन् तर अहिलेको विपद्को अवस्थामा उपभोक्तालाई ग्यास अभाव हुन नदिन सुगम ग्यास र एभरेष्ट ग्यासका सिलिन्डर मकवानपुरको साहरा ग्यासको प्लान्टबाट रिफिल गरेर काठमाडौँ उपत्यका र आसपासका जिल्लामा पठाउने व्यवस्था मिलाउन उद्योगले गरेको प्रस्तावलाई निगमले अनुमति दिएको छ ।

यो व्यवस्थाले प्रभावित क्षेत्रका उपभोक्ताले ग्यास अभावको समस्या कम भोग्नुपर्ने अपेक्षा गरिएको एसजी ग्रुपका अध्यक्ष शिवप्रसाद घिमिरेले उल्लेख गरे ।