आइपिओ जारी गर्दै डिभाइन हेल्थकेयर


काठमाडौं । औषधि उत्पादक कम्पनी डिभाइन हेल्थकेयर लिमिटेडले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने प्रक्रिया अघि बढाएको छ।

कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। यससम्बन्धी सम्झौतामा डिभाइन हेल्थकेयरका अध्यक्ष युवराज श्रेष्ठ र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्र विक्रम ध्वज जोशीले हस्ताक्षर गरेका छन्।

कम्पनीले आफ्नो जारी पुँजीको २० प्रतिशत साधारण सेयर सर्वसाधारणलाई बिक्री गर्ने तयारी गरेको जनाएको छ।

२०७४ कात्तिक १४ गते स्थापना भएको कम्पनी चितवनको भरतपुर महानगरपालिका–१६, विजयनगरमा औषधि उत्पादन गर्दै आएको छ। कम्पनीका अनुसार हाल ६७ प्रकारका औषधि उत्पादन गरी देशभर बिक्री वितरण भइरहेको छ।

करिब एक बिघा क्षेत्रफलमा सञ्चालित कम्पनी पछिल्ला तीन आर्थिक वर्षदेखि नाफामा रहेको र बैंक तथा वित्तीय संस्थाबाट ऋण नलिई मुख्यतः स्वपुँजीबाट सञ्चालन भइरहेको दाबी गरेको छ। कम्पनीको देशभर १२५ भन्दा बढी वितरकको सञ्जाल रहेको छ।