भोटेकोशी बाढी अपडेटः ९०३ को मृत्यु, ४२ सय बेपत्ता, उद्धारमा अन्तर्राष्ट्रिय टोली परिचालन


काठमाडाैँ । भोटेकोशीमा आएको विनाशकारी बाढी र पहिरोका कारण हालसम्म ९०३ जनाको मृत्यु भएको पुष्टि भएको छ । अन्य ४ हजार २ सय जना अझै बेपत्ता रहेका छन् ।

परराष्ट्र मन्त्रालयले सोमवार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले पछिल्लो अवस्थाबारे जानकारी गराउँदै खोज, उद्धार र राहत कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए । 

मन्त्रालयकाअनुसार प्रभावित क्षेत्रबाट १० हजारभन्दा बढी व्यक्तिको सफल उद्धार गरिएको छ, जसमा ३ सय २३ जना विदेशी नागरिक रहेका छन् । अझै पनि ३८ देशका करिव ५ सय ९० जना विदेशी नागरिक बेपत्ता रहेको तथ्याङ्क छ । बेपत्ताहरूको खोज र परिवारसँगको सम्पर्कका लागि परराष्ट्र मन्त्रालयमा ‘इमर्जेन्सी कन्ट्रोल रुम’ स्थापना गरी समन्वय भइरहेको छ । 

उद्धार कार्यलाई थप प्रभावकारी बनाउन नेपालले छिमेकी मुलुक र अन्तर्राष्ट्रिय समुदायसँग समन्वय गरिरहेको छ । भारतबाट आएको विशेष प्राविधिक टोली मैलुङ–त्रिशूली र स्याफ्रुबेँसी क्षेत्रमा सुरुङ उद्धारमा परिचालन गरिएको छ । त्यस्तै, थाइल्याण्डको टोली माथिल्लो त्रिशूली ३ए र दक्षिण कोरियाको टोली पनि कार्यक्षेत्रमा खटिएको छ । 

मृतकहरूको पहिचानका लागि भारतबाट आएका १८ जना फरेन्सिक विशेषज्ञहरूको टोलीले डीएनए परीक्षणमा सहयोग गरिरहेको छ । सिंगापुरबाट ‘डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन’ टोली ल्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ ।

नेपालले अमेरिका, चीन, जापान, संयुक्त अरब इमिरेट्स (यूएई) लगायतका देशहरूबाट बेली ब्रिज, फ्रीजर, जेनेरेटर, सोलार ल्याम्प, डीएनए टेस्टिङ किट र खाद्यान्न जस्ता अत्यावश्यक राहत सामग्री प्राप्त गरिसकेको छ । थप सहयोगका लागि चीनसँग उच्च क्षमताका ड्रोन र सिङ्गापुर तथा दक्षिण कोरियासँग थप प्राविधिक उपकरण माग गरिएको छ । 

नेपाल र चीनबीच जलविज्ञान र मौसम सम्बन्धी तथ्याङ्क, बाँधका ढोकाहरू र हिमतालको अवस्थाबारे ‘रियल टाइम’ सूचना आदानप्रदान भइरहेको छ । तिब्बत क्षेत्रमा रहेका नेपालीहरूलाई केरुङ लगायतका नाकाबाट स्वदेश फिर्ता ल्याउन चिनियाँ पक्षले सहजीकरण गरिरहेको मन्त्रालयले जनाएको छ । 

पहिचान हुन नसकेका र सडेका शवहरूलाई डीएनए नमूना संकलन गरी प्रोटोकल अनुसार अस्थायी रूपमा अन्त्येष्टि गरिएको छ, ताकि भविष्यमा परिवारले पहिचान गरी धार्मिक संस्कारअनुसार पुनः संस्कार गर्न सकून् । 

सरकारले पुर्नस्थापना र पुनर्निर्माणका लागि विस्तृत क्षति मूल्याङ्कन गर्ने तयारी गरेको छ । जसका लागि ठूलो वैदेशिक सहयोगको आवश्यकता पर्ने देखिएको छ ।