काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले तत्काल प्रहरी महानिरिक्षक(आईजीपी) दानबहादुर कार्कीलाई पदबाट नहटाउने विश्वास व्यक्त गरेकी छिन ।
सार्वजानिक लेखा समिति अन्तर्गतको निर्वाचन प्रहरीको पोशाक खरिदसम्बन्धी अध्ययन उपसमितिको बैठकपछि सञ्चारकर्मीहरूसँग उनले यस्तो बताएकी हुन् ।
अध्ययन उपसमितिको प्रतिवेदन आउनु अगाडी नै सरकारले हस्तक्षेप गर्न नमिल्ने र सरकारले नगर्नेमा आफू विश्वस्त रहेको उनले बताइन् । उनले सञ्चारमाध्यममा आएका समाचार र उपसमितिको बैठकबीच कुनै सम्बन्ध नरहेको पनि दाबी गरिन् । सरकारले आफैँ गठन गरेको अध्ययन समितिको काममा हस्तक्षेप गरेर निर्णय लिने आफूलाई नलागेको उनको भनाइ छ ।
उनले भनिन्, “नेपालमा एकदमै धेरै सुरुमै मिडिया ट्रायल गर्ने एउटा प्रवृत्ति नै छ । तर त्यो समाचार र यो हाम्रो बैठकको कुनै सरोकार छैन । यो एउटा पूर्वनिर्धारित बैठक थियो । संयोगले यहि समाचारहरु प्रकाशित भइरहेको समयमा प¥यो तर यसको र त्यसको केही पनि सरोकार छैन । मलाई जहाँसम्म लाग्छ, सरकारले त्यसरी हस्तक्षेप गर्ने गरि कुनै पनि निर्णय गर्छ जस्तो मलाई लाग्दैन । किनभने सरकारले नै हामीलाई एउटा अध्ययन गर्ने जिम्मेवारी दिएर यता अध्ययन समिति गठन गरेर आफै फेरी हस्तक्षेप गरेर निर्णय गर्छ जस्तो मलाई लाग्दैन । आधिकारिक रुपमा नआएको कारणले गर्दा मैले यसमा विशेष टिप्पणी गर्न चाहिन ।”
उनले अध्ययन अनुसन्धानअघि नै निष्कर्षमा पुग्नु न्यायसंगत नहुने बताइन् । उपसमितिले निर्वाचन पोशाकसम्बन्धी अध्ययनका क्रममा कुनै पनि व्यक्ति वा पक्षलाई दोषी ठहर गर्ने वा उन्मुक्ति दिने पूर्वधारणाबाट मुक्त भएर निष्पक्ष अध्ययन गर्ने पनि बताइन् ।
अध्ययनबाट प्राप्त तथ्य र प्रमाणका आधारमा प्रतिवेदन तयार गर्ने उनको भनाइ छ । अध्ययनको प्रारम्भिक चरणमै रहेकाले दसैँका कारण बिचमा लामो समय बित्दा अपेक्षित प्रगति हुन नसकेको उनले बताइन् । यद्यपि, सदस्यहरूले व्यक्तिगत रूपमा अध्ययन जारी राखेको उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्