काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रसुवाको भोटेकोशीमा आएको बाढीलाई स्थानीय विपद्का रूपमा मात्रै नहेरी विश्वव्यापी वातावरणीय संकटको गम्भीर संकेतका रूपमा बुझ्नुपर्ने बताएका छन्।
सोमबार एमाले केन्द्रीय कार्यालय च्यासलमा राजधानी प्रदेश कमिटीले बाढीपीडितका लागि हस्तान्तरण गरेको १० लाख रुपैयाँको चेक ग्रहण गर्दै ओलीले भोटेकोशीको बाढीले हिमाल र विश्वव्यापी पारिस्थितिक प्रणालीको भविष्यबारे गम्भीर प्रश्न उठाएको बताए।
उनले भोटेकोशीको बाढीलाई ‘ग्लोबल फेनोमेनन’ र ‘इन्भायरमेन्टल फेनोमेनन’का रूपमा बुझ्न विश्व समुदायलाई आग्रह गरे। जलवायु परिवर्तन, ग्लोबल वार्मिङ र हिमाली क्षेत्रमा बढ्दै गएको जोखिमबारे तत्काल अन्तर्राष्ट्रिय छलफल आवश्यक रहेको उनको भनाइ छ।
ओलीले नेपालले जलवायु तथा वातावरणीय संकटलाई केन्द्रमा राखेर सगरमाथा संवाद तत्काल आयोजना गर्नुपर्ने प्रस्तावसमेत अघि सारे। उक्त संवादमा विश्वका नेता, वैज्ञानिक तथा वातावरण विज्ञलाई सहभागी गराएर हिमालको भविष्य र विश्वव्यापी पारिस्थितिक प्रणालीमाथिको जोखिमबारे छलफल गर्नुपर्ने उनले बताए।
‘भोटेकोशीको बाढी एउटा गम्भीर धक्का र वार्निङ हो,’ ओलीले भने, ‘यहाँ दोहोरिएन भने अर्को ठाउँमा दोहोरिन सक्छ।’
हिमालको भविष्य नै विश्वव्यापी पारिस्थितिक प्रणालीको भविष्य भएकाले यसको संरक्षणका लागि अन्तर्राष्ट्रिय तहबाटै गम्भीर पहल आवश्यक रहेको ओलीको भनाइ छ।


प्रतिक्रिया दिनुहोस्