विपद्मा परेका २८९ पर्यटकको उद्धार, ५९१ जना अझै सम्पर्कविहीनः पर्यटन बोर्ड


काठमाडाैँ । नेपाल पर्यटन बोर्डले भोटेकोशी विपद्का कारण अलपत्र परेका २ सय ८९ जना पर्यटकको उद्धार गरिएको बताएको छ । 
५ सय ९१ जना अझै सम्पर्कविहीन रहेको बोर्डका प्रवक्ता सुनिल शर्माले बताए ।

उनकाअनुसार उद्धार गरिएका र सम्पर्कविहीन भएकाहरूमा स्वदेशी तथा विदेशी दुवै नागरिक रहेका छन् । पर्यटक प्रहरी र राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा प्राप्त तथ्याङ्कअनुसार उद्धार गरिएकामध्ये सबैभन्दा बढी १ सय ८० जना भारतीय नागरिक रहेका छन् ।

यस्तै, चीनका ८९ जना र अन्य विभिन्न देशका पर्यटकहरूको उद्धार गरिएको छ । बोर्डले हालसम्म १२ वटा राष्ट्रका पर्यटकहरूको तथ्याङ्क संकलन गरी आफ्नो आधिकारिक फेसबुक पेजमार्फत नियमित अपडेट गरिरहेको जनाएको छ । 

प्रवक्ता शर्माले विपद्को जानकारी प्राप्त हुनासाथ बोर्डले सक्रियता देखाएको बताए । अगस्ट २६ देखि नै कैलाश मानसरोवरका टुर अपरेटर तथा अन्य सरोकारवालाहरूसँग बैठक बसी सूचना संकलन शुरु गरिएको थियो । सूचनालाई व्यवस्थित बनाउन गुगल फर्म, इमेल र ह्वाट्सएपको प्रयोग गरिएको छ भने पर्यटक प्रहरीसँग तथ्याङ्क प्रमाणीकरण गर्ने काम भइरहेको छ ।

उनले भने, “हामीले पर्यटन बोर्डमा हेल्प डेस्क स्थापना गरेका छौँ । सम्पर्कविहीन रहेका पर्यटकका परिवार र आफन्तहरू सोधपुछका लागि कार्यालयमै आउने गर्नुभएको छ । उहाँहरूलाई सूचना उपलब्ध गराई आश्वस्त पार्ने काम भइरहेको छ । राज्यको निकायले अभिभावकत्व ग्रहण गर्दा पीडित परिवारमा सकारात्मक सन्देश गएको छ ।”

विशेष गरी तातोपानी र सीमा क्षेत्रका होटेल तथा अध्यागमन कार्यालय आसपासका क्षेत्रबाट बढी सूचना प्राप्त भइरहेको बोर्डले जनाएको छ । कतिपय पर्यटक इमिग्रेसन पार गर्ने क्रममा त कतिपय होटेलमा बसिरहेको अवस्थामा सम्पर्कविहीन भएका हुन् । ट्रेकिङ र टुर एजेन्सीहरूले आफ्ना पर्यटकमार्फत विवरण उपलब्ध गराइरहेका छन् ।

बोर्डले परराष्ट्र मन्त्रालय, नेपाल प्रहरी र सम्बन्धित देशका दुतावासहरूसँगको समन्वयमा सूचना प्रवाहलाई तिब्रता दिएको छ । नेपाल प्रहरीले तोकेका सम्पर्क व्यक्ति र अस्पतालहरूको सूची समेत सम्प्रेषण गरी उद्धार र राहत कार्यमा सहजीकरण भइरहेको प्रवक्ता शर्माले जानकारी दिए ।