सरकारलाई रसुवावासीको आग्रहः ‘सास बचाउन नसके पनि कम्तीमा लाश खोजिदेऊ, बाँचेकालाई राहत देउ’


काठमाडाैँ । रसुवाको भोटेकोशीमा आएको बाढीले रसुवा र नुवाकोटमा ठूलो क्षति पु¥याएको छ । बाढीले सयौँको ज्यान गएको छ भने हजारौँ सम्पर्कविहीन भएका छन् । रसुवाको टिमुरे, बेत्रावति, स्याँप्रुवेशी लगायतका बजार बालुवाको बगरमा परिणत भएका छन् ।

रसुवा र नुवाकोटको सीमावर्ती बेत्रावती क्षेत्रका स्थानिय विनाशकारी बाढीले बस्ती नै तहसनहस बनाएको बताउँछन् । बेत्रावतीबाट आफन्तको सहयोगमा करिव ९ घण्टा लगाएर आईतवार राती केही बाढी प्रभावित काठमाडौं आईपुगेका छन् ।

उनीहरुकाअनुसार बाढीमा ठूलो मानवीय तथा भौतिक क्षति भएपनि उद्धार र राहत समयमै प्रभावित क्षेत्रमा पुग्न सकेको छैन । रसुवाको उत्तरगया गाउँपालिका–५, बेत्रावतीकी शान्ति अधिकारीकाअनुसार बाढी आएको सूचना पाएपछि स्थानीयवासी आफैँ एकअर्कालाई खबर गर्दै ज्यान जोगाउन भागेका थिए ।

बाढीको सूचना त्यहाँका पूर्ववडाध्यक्षले स्कुटरमा बसेर दिँदै हिँडेका कारण धेरैले ज्यान जोगाउन सकेको अधिकारी बताउँछन् । प्रहरीले समयमै सूचना नदिएको उनको गुनासो छ । बाढीले सयौँ मान्छे र घरहरु बगाएको उनले बताए । उनका अनुसार बाढीअघि रसुवातर्फ मात्रै करिब एक सय घरको बस्ती थियो । अहिले रसुवा र नुवाकोट दुवैतर्फका प्रभावित क्षेत्रमा घरबस्तीको नामनिसाना छैन ।

बाढीपछि उद्धार र राहतमा सरकारले चासो नदिएको उहाँको गुनासो छ । राहत सामग्री नुवाकोटको विदुर क्षेत्रमा थुप्रिएपनि रसुवातर्फ पुग्न नसकेको उनले बताए । उनले न्यायोचित राहत वितरण गर्न र तत्काल पुनःस्थापना र पूर्वाधार निर्माण थाल्न सरकारसँग माग गरे ।

नुवाकोटतर्फकी बेत्रावतीवासी लक्ष्मी डंगोलले पनि बाढीअघि आफूहरूलाई प्रभावकारी पूर्वसूचना नदिएको गुनासो गरिन्। पर्याप्त पूर्वसूचना नभएका कारण धेरैले ज्यान गुमाउनु परेको उनको भनाइ छ । बाढी आएका थाहा पाएपछि श्रीमानश्रीमति नै माथितिरको डाँडातिर भागेर ज्यान जोगाउन सफल भएको उनले बताइन् ।

डाँडामा पुगेपछि बेत्रावती बजार तहसनहस भएको, मानिसहरू बगेको र घरहरू ढलेको दृश्य देखेको उनले उल्लेख गरिन् । उनकाअनुसार बाढीमा फसेकाहरु उद्धारको लागी गुहार मागिरहेका थिए । बुधबार विहान करिव साढे ९ बजे बाढी आएपनि उद्धार टोलि तीन दिनपछि मात्रै पुगेको उनले बताइन् ।

केही हेलिकप्टर उडिरहेको देखिएपनि फसेका मानिसको उद्धार हुन नसकेको उनको गुनासो छ । उनकाअनुसार बेलैमा सरकार पुगेर उद्धार गरेको भए धेरै मानिस बाँच्ने सम्भावना थियो । नजिकै आर्मी क्याम्प र प्रहरी चौकी भएपनि फसेका मानिसलाई सुरक्षित ठाउँमा निकाल्न सहयोग नगरेको उनको आरोप छ ।

बाढीले डंगोलको बहिनी तथा परिवारका धेरै सदस्यले ज्यान गुमाएको छन् । उनले सरकारले सासको उद्धार गर्न नसके पनि लाशको खोजी गरिदिनुपर्ने बताइन् । उनले राहत पनि पीडितले पाउन नसकेको बताइन् । सरकारले सबैलाई न्यायोचित ढंगले राहत वितरण गर्नुपर्ने उनको भनाइ छ ।

रसुवाकी शान्ता थापाले बाढीबाट ज्यान गुमाएकाहरुको शब अझै बगरभरी रहेको बताइन् । अझै धेरै शव निकाल्न बाँकी रहेको उनको भनाइ छ । शव गन्हाउन थालिसकेको भएपनि नजिकै रहेको सेना, प्रहरी, सशस्त्र प्रहरी कोही नपुगेको उनको गुनासो छ । विपद्को समयमा पीडितले राज्यको साथ नपाएको उनले बताइन् ।

उनले बाढीले सुकुम्बासी भएका नागरिकको गाँस, वास र कपासको व्यवस्था सरकारले गर्नुपर्ने बताइन् । पीडितलाई सुरक्षित ठाउँमा पुनःस्थापित गर्न पनि उनले सरकारसंग माग गरिन् ।

रसुवा बेत्रावतीका व्यापारी निर्मल प्याकुरेलका बाढीले आमा, बाजे र पसलमा काम गर्ने एक महिलासहित परिवारका चार जना सम्पर्कविहीन छन् । बाढीले पसलमा रहेका ५० लाख रुपैयाँभन्दा बढी मूल्यका सामान बगाएको छ । उनले बेपत्ता भएका परिवारका सदस्यलाई खोजिदन सरकारसँग आग्रह गरे ।

साथै बेत्रावति लवगायत रसुवातिरका बाढीपीडितले अहिलेसम्म राहत नपाएकोले तत्काल रात वितरण गर्न उनले माग गरे। उनकाअनुसार रसुवाका दुर्गम प्रभावित क्षेत्रमा अझै राहतको ठूलो आवश्यकता छ । नुवाकोटको विदुरमा राहत पुगेपनि रसुवातिर नगएको उनको भनाइ छ । रसुवामा ग्यास, नुन, चामल, तेल सबैको अभाव हुन थालेको उनले बताए ।

बेत्रावतीकै रानु अधिकारीले ऐतिहासिक बेत्रावती बजारको अहिले अस्तित्व नै नरहेको बताइन् । खोलाको छेउमा बस्ती बसेकाले क्षति भएको भन्ने तर्क गरिएकोप्रति असन्तुष्टी जनाउँदै उनले बेत्रावती नयाँ बस्ती नभई ऐतिहासिक ठाउँ भएको उल्लेख गरिन् । बाढीले धेरै आफन्त अझै बेपत्ता रहेकोले उनीहरूले शव खोजीका लागि पनि उनले सरकारसँग आग्रह गरिन् । उनले पनि रसुवामा राहत नपुगेको बताइन्। बेत्रावती र त्यसभन्दा माथिका गाउँमा राहत तथा सरकारी सहयोग तत्काल पु¥याउनुपर्ने उनको भनाइ छ ।

सरकारले संकलन गरेको राहत सबै नुवाकोटको विदुरमा थुप्रिएको छ । रसुवातर्फ भने सरकारले राहत र उद्धार कार्य दुवै गर्न सकेको छैन । रसुवाका बाढीपिडितहरुले नुवाकोटबाट कटेर रसुवाको चीन नाकासम्म पुग्न सरकारलाई आग्रह गरेका छन् । काठमाडौँ आएका बाढी पीडितहरुले आफूलाई तत्काल बरु केही नचाहिने तर विचल्ली भएर गाउँमा बसेकालाई राहत, उद्धार र पुनःस्थापनामा सरकारको ध्यान जानुपर्नेमा जोड दिएका छन् ।