बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकाले बाढीपीडितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि ४० लाख ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
नगरपालिकाले जारी गरेको विज्ञप्तिअनुसार गत भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै राहत तथा पुनःस्थापनाका लागि उक्त रकम जुटाउने निर्णय गरिएको हो।
नगरपालिकाको भदौ १५ गते बसेको कार्यपालिका बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ। बाँकी रकम भने नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकहरूको सेवा सुविधाबाट कट्टा गरी संकलन गरिने जनाइएको छ।
विज्ञप्तिअनुसार माध्यमिक प्रथम श्रेणीका शिक्षकबाट १० दिन बराबरको तलब, अधिकृतस्तरका कर्मचारी तथा माध्यमिक द्वितीय र तृतीय श्रेणी वा सो सरहका शिक्षकबाट ७ दिन बराबरको तलब, सहायकस्तरका कर्मचारी तथा निमावि र प्रावि तहका शिक्षकबाट ५ दिन बराबरको तलब कट्टा गरिनेछ।
त्यस्तै, निजी स्रोतका शिक्षक, श्रेणीविहीन कर्मचारी, विद्यालय कर्मचारी तथा बाल विकास सहजकर्ताबाट २ दिन बराबरको तलब संकलन गरिने नगरपालिकाले जनाएको छ।
नगरपालिकाले बाढीमा परी बेपत्ता भएका नागरिकको खोज तथा उद्धार र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनामा सहयोग गर्न सबैलाई आग्रह गरेको छ।
प्राकृतिक विपत्तिको यस विषम घडीमा सबैको साझा दायित्व रहेको उल्लेख गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न नागरिक, संघसंस्था, निजी क्षेत्र तथा सरोकारवालासँग अपिल गरिएको छ।
साथै, विपद्को अवस्थालाई मध्यनजर गर्दै सैनामैना नगरपालिका क्षेत्रभित्र भदौ महिनाभर सार्वजनिक रूपमा मेला, उत्सव, जात्रा लगायत मनोरञ्जनात्मक तथा भड्किला कार्यक्रम नगर्न नगरपालिकाले आग्रह गरेको छ।



प्रतिक्रिया दिनुहोस्