काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेस संसदीय दलकी नेता कमला पन्तले प्राकृतिक विपत्तिका बेला सरकारको उपस्थिति प्रभावकारी रूपमा देखिन नसकेको भन्दै आलोचना गरेकी छन्।
मंगलबार राष्ट्रिय सभा बैठकमा बोल्दै पन्तले बाढी तथा पहिरो प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा राज्यको उपस्थिति कागजमा मात्र नभई पीडितको घरदैलोमै देखिनुपर्ने बताइन्।
भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लामा भएको क्षतिप्रति चिन्ता व्यक्त गर्दै उनले मृतकप्रति श्रद्धाञ्जली तथा परिवारजनमा समवेदना व्यक्त गरिन्।
बाढीबाट तिमुरे, स्याफ्रुबेँसी, बेत्रावती र त्रिशूली क्षेत्रका बस्तीका साथै सडक, सञ्चार र जलविद्युत् आयोजनामा गम्भीर क्षति पुगेको उल्लेख गर्दै उनले उद्धारलाई पहिलो प्राथमिकतामा राख्न सरकारसँग माग गरिन्।
पन्तले जलविद्युत् आयोजनाका सुरुङमा प्राविधिक तथा कामदार फसेको आशंका रहेकाले आधुनिक टनेल रेस्क्यु प्रविधि र दक्ष जनशक्ति तत्काल परिचालन गर्न आग्रह गरिन्। विदेशी प्राविधिक टोली फिर्ता पठाइएको भन्ने जानकारी आएको भन्दै उनले संकटका बेला यस्तो निर्णय नगर्न सरकारलाई सचेत गराइन्।
तीन तहका सरकारबीच समन्वयको अभाव र राहत वितरणमा पारदर्शिता नदेखिएको भन्दै उनले सरकारले सामाजिक सञ्जालमार्फत नभई संसद्मा उपस्थित भएर विपद्को अवस्थाबारे आधिकारिक जानकारी दिनुपर्ने बताइन्।
शव पहिचान तथा व्यवस्थापनमा डीएनए र फिंगरप्रिन्ट प्रविधिको प्रयोग गरी प्रशासनिक झन्झटरहित रूपमा आफन्तलाई बुझाउने व्यवस्था गर्न पनि उनले माग गरिन्। सीमा क्षेत्र तथा छिमेकी मुलुकसम्म पुगेका शवको खोजी र व्यवस्थापनबारे समेत सरकारले स्पष्ट जानकारी दिनुपर्ने उनको भनाइ छ।
जलवायु परिवर्तनका कारण नेपाल थप जोखिममा परेको उल्लेख गर्दै पन्तले विपद्पछिको पुनर्निर्माण सुरक्षित स्थानमा गर्नुपर्ने बताइन्। अहिले राजनीतिक प्रतिस्पर्धाको नभई राष्ट्रिय एकता, सहकार्य र मानवीय संवेदनशीलता देखाउने समय भएको उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस्