अवरुद्ध चीनको तिब्बतस्थित केरुङ नाका जोड्ने राजमार्ग सञ्चालनको अन्तिम चरणमा


काठमाडाैँ । चीनको दक्षिण–पश्चिम सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रस्थित जिरोङ (केरुङ) काउन्टीमा रहेको केरुङ नाका जोड्ने राष्ट्रिय राजमार्गको अन्तिम खण्ड पुनः सञ्चालनका लागि उद्धारकर्ताहरूले मर्मत कार्यलाई तिब्र पारेका छन् ।

अवरुद्ध सडकको मर्मत कार्य सम्पन्न भई नाकाभन्दा १ किलोमिटरभन्दा कमको दुरीमा पुगेको छ । गत अगस्ट २६ मा आएको भीषण पहिरोका कारण लेदो र ढुङ्गा थुप्रिएर यो राजमार्ग गम्भीर रूपमा क्षतिग्रस्त भएको थियो ।

मर्मत कार्य भइरहेको भौगोलिक क्षेत्र निकै कठिन मानिएको छ । भिरालो पहाडी खोँचमा अवस्थित उक्त स्थानको एकातर्फ अग्लो भीर र अर्कोतर्फ प्रतिसेकेन्ड ६ देखि ७ मिटरको गतिमा बग्ने तिब्र बहावको नदी रहेको छ । 

भौगोलिक जटिलताका कारण ठूला मेसिनरी उपकरणहरू प्रयोग गर्न पर्याप्त स्थान नभएपछि उद्धारकर्ताहरूले पालैपालो (रिले) काम गरिरहेका छन् ।

उनीहरूले ठूला ढुङ्गाहरूको प्रयोग गरी सडकको जग मजबुत बनाउँदै नदीको तीव्र बहावका बीच सबैभन्दा कठिन खण्डहरूमा मर्मत कार्य जारी राखेका छन् ।

कार्यस्थलको सुरक्षाका लागि अत्याधुनिक प्रविधिको समेत प्रयोग गरिएको छ । लेजरमा आधारित एआई मोनिटरिङ उपकरण, स्लोप राडार र ड्रोनमार्फत भिरालो जमिनको अवस्थालाई २४सै घण्टा निगरानी भइरहेको छ ।

यी उपकरणहरूले जमिनमा आउने सामान्य परिवर्तनलाई पनि तत्कालै पहिचान गरी सम्भावित जोखिमबारे पूर्वजानकारी दिने गर्दछन् । 

यो व्यापारिक मार्ग पुनः सञ्चालनमा आएसँगै विपद्ग्रस्त क्षेत्रमा आवश्यक उपकरण, जनशक्ति र राहत सामग्रीको ढुवानी सहज हुने अपेक्षा गरिएको छ ।