काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट बाढी प्रभावित क्षेत्रमा तत्काल खर्च गर्नेगरी एक अर्ब रुपैयाँ विपद् व्यवस्थापन कोषमा पठाइएको छ।
मंगलबार बसेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष सञ्चालन समितिको बैठकले उक्त रकम तत्काल परिचालन गर्ने निर्णय गरेको हो।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष एवं कोष सञ्चालन समितिका संयोजक डा. गुणकर भट्टले गृहसचिवको नेतृत्वमा परिचालन हुनेगरी एक अर्ब रुपैयाँ निकासा गरिएको जानकारी दिए।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा २२ बमोजिम विपद् व्यवस्थापन कोष गृहसचिवले व्यवस्थापन गर्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा एभरेस्ट बैंकको खातामा रहेको मौज्दातबाट एक अर्ब रुपैयाँ विपद् व्यवस्थापन कोषमा पठाइएको हो।
अब उक्त रकम बाढी प्रभावित क्षेत्रमा आवश्यकता र मागका आधारमा परिचालन गरिने भएको छ। रकम बाढीपछिको उद्धार तथा राहत, तत्कालीन पूर्वाधार सुधार र अस्थायी बासस्थान निर्माणलगायतका काममा खर्च गरिने भएको छ।
बाढी प्रभावित पालिका वा जिल्लाका विपद् व्यवस्थापन समितिले आफ्नो आवश्यकताअनुसार रकम माग गर्न सक्नेछन्। प्राप्त मागका आधारमा गृहसचिव नेतृत्वको समितिले रकम वितरण गर्नेछ।
जिल्ला विपद् व्यवस्थापन समितिमार्फत खर्च हुने उक्त रकमबाट बाढी प्रभावित क्षेत्रमा तत्काल आवश्यक उद्धार तथा राहत र पूर्वाधार सुधारका काम अघि बढाइने भएको छ।


प्रतिक्रिया दिनुहोस्