काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रका बीमा दाबीको भुक्तानी प्रक्रिया सरल र सहज बनाउन निर्देशन दिएका छन्।
भदौ १० गते रसुवामा गएको बाढीबाट भएको क्षतिपछिको बीमा दाबीको अवस्था तथा दाबी भुक्तानी प्रक्रियालाई सहज बनाउने विषयमा सोमबार नेपाल बीमा प्राधिकरणको आयोजनामा अर्थ मन्त्रालयमा भएको उच्चस्तरीय छलफलमा अर्थमन्त्री वाग्लेले यस्तो निर्देशन दिएका हुन्।
“बाढीका कारण देश शोकमा छ। यो कठिन अवस्थामा सबैजना हातेमालो गरौँ। पीडितको क्षतिमा बीमा कम्पनीहरूले मल्हम लगाऔँ। दाबी भुक्तानीलाई सहज र सरल बनाऔँ,” अर्थमन्त्री वाग्लेले भने।
बीमा कम्पनीहरूलाई कुनै समस्या भए वा सरकारले सहयोग गर्नुपर्ने अवस्था आए जानकारी गराउन आग्रह गर्दै उनले सरकार सहयोग गर्न तयार रहेको बताए।
मुलुक कठिन परिस्थितिबाट गुज्रिरहेको अवस्थामा सबै मिलेर अघि बढ्नुको विकल्प नभएको उनले बताए।
भोटेकोशी नदीमा आएको अकल्पनीय र दुःखद् बाढीबाट ठूलो जनधनको क्षति हुनुका साथै जलविद्युत् आयोजना, सार्वजनिक पूर्वाधार र निजी सम्पत्तिमा ठूलो असर परेको उनले बताए।
नेपाल बीमा प्राधिकरणका अनुसार भदौ १५ गतेसम्म प्राप्त प्रारम्भिक विवरणअनुसार बाढीका कारण ५८३ वटा बीमा दाबी परेका छन्। ती प्रारम्भिक दाबीको कुल अनुमानित रकम २५ अर्ब ८७ करोड रुपैयाँ रहेको छ।
बैठकले ठूला तथा प्रारम्भिक क्षतिको बीमा दाबी भुक्तानीलाई उच्च प्राथमिकतामा राख्दै दाबी भुक्तानी प्रक्रियामा विभिन्न सहजीकरण गर्ने निर्णय गरेको छ।
द्रुत दाबी भुक्तानीका लागि कागजी प्रक्रियाका कारण ढिलाइ हुन नदिन कार्यविधिमा व्यापक सहजीकरण गर्ने तथा साना दाबीका लागि द्रुत भुक्तानी प्रणाली अपनाउने निर्णय भएको छ।
जलविद्युत् आयोजना तथा ठूला पूर्वाधारमा भएको क्षतिको पूर्ण मूल्याङ्कन गर्न समय लाग्ने भएकाले बीमितको नगद प्रवाह सहज बनाउन तत्काल उचित रकम पेस्कीस्वरूप भुक्तानी दिने निर्णय पनि बैठकले गरेको छ।
सर्भेयर परिचालनलाई थप चुस्त र पारदर्शी बनाउन नेपाल बीमा प्राधिकरणले ब्ल्याङ्केट सहमति दिने र प्रणालीमार्फत स्वचालित रूपमा सर्भेयर खटाउने व्यवस्था मिलाउने भएको छ।
त्यस्तै, दाबी भुक्तानी प्रक्रियाको दैनिक अनुगमन तथा सहजीकरणका लागि नेपाल बीमा प्राधिकरणमा ‘डेडिकेटेड टास्क फोर्स’ गठन गर्ने निर्णय पनि बैठकले गरेको छ।
विपत्तिलगत्तै सरकारले राहत तथा उद्धारलाई प्राथमिकता दिएको र क्षतिको पुनर्निर्माणको ढाँचा तयार गर्न कार्यदलले काम सुरु गरिसकेको अवस्थामा बीमा क्षेत्रबाट हुने दाबी भुक्तानीलाई उच्च प्राथमिकता दिई सहजीकरण गर्दा प्रभावितलाई छिटो राहत महसुस हुने अपेक्षा गरिएको छ।
बैठकमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष, सञ्चालक, कार्यकारी निर्देशक, विभिन्न बीमा तथा पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा सर्भेयर संघका पदाधिकारीको सहभागिता रहेको थियो।


प्रतिक्रिया दिनुहोस्