काठमाडौँ । बाढीपहिरोबाट प्रभावित परिवार तथा समुदायको राहत, उद्धार र पुनर्निर्माण कार्यमा सहयोग पुर्याउने उद्देश्यले ‘चितवन को–ई ग्रुप’ले प्रधानमन्त्री राहत कोषमा रु. १ करोड ५० लाख सहयोग गरेको छ ।
ग्रुपले जारी गरेको प्रेस विज्ञप्तिअनुसार उक्त रकममध्ये ग्रुप अन्तर्गत रहेका मनकामना दर्शन प्रालि ले रु. १ करोड २५ लाख र चितवन मिल्क लिमिटेड ले रु .२५ लाख योगदान गरेका हुन् ।
ग्रुपका प्रबन्ध निर्देशक राजुबाबु श्रेष्ठसहितको नेतृत्वमा गएको टोलीले अर्थमन्त्री डा. स्वार्णिम वाग्लेलाई सहयोग रकमको चेक हस्तान्तरण गरेको हो ।
विज्ञप्तिमा भनिएको छ, “हाम्रो जरा चितवन, गोरखा र हामीले सेवा प्रदान गरिरहेका क्षेत्रसँग गहिरोसँग जोडिएको छ । समुदाय सङ्कटमा पर्दा हामी दर्शक बनेर बस्न सक्दैनौँ, बरु छिमेकी र साझेदारका रूपमा साथमा उभिन्छौँ ।”
विज्ञप्तिमा हालैको प्राकृतिक विपत्तिले देशभरका धेरै परिवारको घरबार, जीविकोपार्जन र जनजीवनमा गम्भीर असर पु¥याएको उल्लेख गर्दै पीडित परिवारप्रति गहिरो सहानुभूति व्यक्त गरिएको छ । साथै राष्ट्रियस्तरमा सञ्चालन भइरहेको उद्धार, राहत तथा पुनर्निर्माण अभियानमा निजी क्षेत्रको सक्रिय साथ आवश्यक रहेको जनाइएको छ ।
चितवन, गोरखा तथा आसपासका क्षेत्रसँग आफ्नो ऐतिहासिक र सामाजिक सम्बन्ध रहेको उल्लेख गर्दै ग्रुपले विपद्का बेला टाढाबाट मात्र सहयोग गर्ने नभई समुदायको सदस्यका रूपमा साथमा उभिने प्रतिबद्धता जनाएको छ ।
विज्ञप्तिमा स्वर्गीय संस्थापक लक्ष्मणबाबु श्रेष्को समाज र राष्ट्रप्रतिको उत्तरदायित्वसम्बन्धी दृष्टिकोणलाई स्मरण गर्दै सोही मूल्यमान्यतालाई आत्मसात् गर्दै कम्पनीहरू सामाजिक उत्तरदायित्व निर्वाहमा प्रतिबद्ध रहेको उल्लेख गरिएको छ ।
चितवन को-ई ग्रुपले उक्त सहयोगले प्रभावित परिवारहरूलाई तत्काल राहत उपलब्ध गराउन, पुनःस्थापनामा सहयोग पुर्याउन तथा समुदायको पुनर्निर्माण अभियानलाई थप सशक्त बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ। साथै यस कठिन घडीमा बाढीपहिरो प्रभावित परिवारहरू तथा उद्धार तथा राहत कार्यमा खटिएका सबैप्रति सम्मान र ऐक्यबद्धता प्रकट गरेको छ।


प्रतिक्रिया दिनुहोस्