काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले बाढी, पहिरो र डुबानपछिको राहत तथा उद्धार कार्यमा सरकारको प्रभावकारितालाई लिएर अहिले नै कुनै नकारात्मक निष्कर्षमा पुग्न हतार नगर्न आग्रह गरेका छन् ।
बुधबार संघीय संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद झाले सरकारका कमी–कमजोरीमाथि प्रश्न उठ्नु जायज भएपनि सबै संयन्त्र असफल भइसकेको भन्नु न्यायोचित नहुने बताएका हुन् ।
सांसद झाले प्रधानमन्त्रीले संसदमा राहत र उद्धारका सम्बन्धमा बुँदागत रूपमा स्पष्ट पारेको उल्लेख गर्दै कतिपय प्राविधिक कारणले पनि परिणाम देखिन समय लागेको बताए ।
सरकारको नियत र इमान्दारितामा प्रश्न उठाउने ठाउँ नरहेको जिकिर गर्दै उहाँले विपद्को समयमा सबै राजनीतिक दलहरूबिच सहकार्य हुनुपर्नेमा जोड दिए ।
झाले रास्वपा सभापतिले सर्वदलीय संयन्त्र, संसदीय समिति वा सक्रिय कार्यदल बनाएर अघि बढ्न प्रस्ताव गरेको र यसबारे छलफल भइरहेको जानकारी दिए ।
उनले भने, “राहत र उद्धारमा अपेक्षाकृत परिणाम नआएको भन्ने प्रश्न जायज हुन सक्छ, तर एकैपटक सबै चिज बिग्रिसक्यो वा सरकार असफल भयो भन्ने निष्कर्षमा पुग्नु हुँदैन । हाम्रो राजनीतिक दस्ताबेजले नै सहअस्तित्वको अभ्यासलाई जोड दिएको छ । सबै तह र संयन्त्रलाई समेटेर अघि बढ्नु नै अहिलेको आवश्यकता हो । गृहमन्त्री फिल्डमा जाँदा कमान्ड सेन्टरमा बस्नुपथ्र्यो भन्ने प्रश्न उठ्छ, यदि नगएको भए किन नगएको भन्ने प्रश्न उठ्ने थियो । यो कार्यशैलीको कुरा हो ।”
उद्धार कार्यमा गृहमन्त्रीको सक्रियतालाई लिएर उठेका प्रश्नहरूको सन्दर्भमा सांसद झाले यो काम गर्ने आफ्नो–आफ्नो शैली भएको टिप्पणी गरे ।


प्रतिक्रिया दिनुहोस्