काठमाडौँ । पृथ्वी राजमार्ग अवरुद्ध भएपछि उपत्यकामा खाना पकाउने ग्यासको आपूर्ति प्रभावित हुन नदिन साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले निजी ग्यास उद्योगसँग सहकार्य गरेर आफ्ना एसटीसी सिलिन्डर भर्न थालेको छ।
धादिङको कृष्णभीरमा त्रिशूली नदीले सडक कटान गरेपछि कर्पोरेसनको धादिङ जुगेखोलास्थित एलपीजी प्लान्टमा ग्यासका बुलेट पुग्न नसक्ने अवस्था सिर्जना भएको थियो। त्यसपछि कर्पोरेसनले वैकल्पिक व्यवस्थाअन्तर्गत मनोज र बाबा ग्यासका प्लान्टमा आफ्ना खाली सिलिन्डर भरेर वैकल्पिक मार्ग हुँदै काठमाडौं ल्याउने व्यवस्था मिलाएको हो।
कर्पोरेसनका सहायक प्रमुख कार्यकारी अधिकृत बज्रेश झाका अनुसार विपद्को अवस्थालाई ध्यानमा राख्दै उपभोक्तालाई ग्यास अभाव हुन नदिन यस्तो व्यवस्था गरिएको हो। पहिलो चरणमा निजी प्लान्टमा भरिएका सिलिन्डर शुक्रबारसम्म काठमाडौं आइपुग्ने अपेक्षा गरिएको उनले बताए। कर्पोरेसनले आफ्नो प्लान्टका लागि छुट्याइएका केही ग्यासका बुलेटसमेत निजी उद्योगतर्फ डाइभर्ट गरेको छ।
साल्ट ट्रेडिङले नेपाल आयल निगमबाट पाउने ग्यासको कोटा सीमित रहेकाले आपूर्ति व्यवस्थापन चुनौतीपूर्ण बनेको जनाएको छ। निगमले भारतीय आयल कर्पोरेसनसँग सम्झौता गरेका करिब ३ हजार २५ ग्यास बुलेटमध्ये ५३ वटा अर्थात् करिब दुई प्रतिशत मात्र साल्ट ट्रेडिङको भागमा पर्ने जनाइएको छ।
यता कर्पोरेसनले मासिक ५५ हजारदेखि ६० हजार एसटीसी सिलिन्डर खपत गर्दै आएको छ। सीमित आपूर्तिलाई व्यवस्थित गर्न कर्पोरेसनले कुपन प्रणालीमार्फत ग्यास वितरण गरिरहेको छ। कुपन वितरणकै क्रममा उपभोक्ताले ग्यास पाउने दिनसमेत सुनिश्चित गरिने झाको भनाइ छ।
कर्पोरेसनले अत्यावश्यक वस्तुका रूपमा रहेको आयोडिनयुक्त नुनको आपूर्ति सुनिश्चित गर्न करिब छ महिनालाई पुग्ने मौज्दात राखेको जनाएको छ।
भदौ १७ गतेसम्म कर्पोरेसनका भण्डारणमा १ लाख २७ हजार ३६१ मेट्रिक टन नुन मौज्दात रहेको झाका अनुसार देशभर वार्षिक दुई लाख टनभन्दा बढी आयोडिनयुक्त नुनको माग हुन्छ। गत आर्थिक वर्षमा कर्पोरेसनले करिब २ लाख १० हजार टन नुन बिक्री गरेको थियो।
अन्तर्राष्ट्रिय बजारमा चिनीको मूल्य बढिरहेका बेला साल्ट ट्रेडिङले बजार हस्तक्षेप गर्दै प्रतिकिलो १०० रुपैयाँमा चिनी बिक्री गरिरहेको छ। निजी क्षेत्रबाट चिनी प्रतिकिलो १३५ रुपैयाँसम्म बिक्री भइरहेका बेला कर्पोरेसनले सस्तो मूल्यमा बिक्री गरिरहेको जनाएको छ।
भदौ ९ गते मात्रै कर्पोरेसनले ६०० टन चिनी आयात गरेको थियो भने पछिल्लो समय करिब ३ हजार टन चिनी बजारमा पठाइसकेको छ। चामल, दाल, गेडागुडी र तेललगायत दैनिक उपभोग्य वस्तुको मूल्य बढिरहेको अवस्थामा कर्पोरेसनले आफूले बिक्री गर्ने खाद्यान्नको मूल्य स्थिर राख्ने प्रयास गरिरहेको जनाएको छ।


प्रतिक्रिया दिनुहोस्