बाढी प्रभावित सबै स्थानमा नेपाल टेलिकमको नेटवर्क पहुँच पुग्यो


काठमाडौँ । नेपाल टेलिकमले बाढी प्रभावित सबै स्थानमा नेटवर्कको पहुँच पुगेको जानकारी गराएको छ ।

विज्ञप्ति जारी गर्दै नेपाल टेलिकमले बाढी प्रभावित जिल्लाहरूमा मोबाइल बिटिएस साइट सुचारु गरी प्रभावित सबै स्थानहरूमा पूर्ण रुपमा नेटवर्क पहुँच कायम गरेको जनाएको हो ।

गत भदौ १० गते भोटेकोशीमा आएको आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लाहरूमा नेपाल टेलिकमका टावरहरूबाट प्रदान गरिएको मोबाइल तथा इन्टरनेट सेवा अवरुद्ध भएको थियो ।

नेपाल टेलिकमका प्राविधिकहरू निरन्तर रुपमा वाढी प्रभावित क्षेत्र तथा विपद् प्रतिकार्य कक्ष मार्फत खटिएर सेवा सञ्चालनमा ल्याइएको टेलिकमले जनाएको छ ।

बाढीले सडक तथा विद्युत अवरुद्ध भएका स्थानहरूमा सुरक्षा निकायको समन्वयमा हेलिकप्टर मार्फत प्राविधकहरू सहित सामान, उपकरण, जेनेरेटर तथा इन्धन ढुवानी गराई सेवा पुनःसञ्चालन गरिएको थियो ।

बाढीले नेपाल टेलिकमका रसुवा, नुवाकोट र धादिङ जिल्लाका १२० साइटमार्फत सञ्चालित सेवा मध्ये ८३ साइटमार्फत सञ्चालित सेवाहरू अवरुद्ध भएका थिए भने तीनओटा साइटहरू टिमुरे, चिलिमे खोला र त्रिशूली ३‘बी’ साइट पूर्ण रुपमा क्षतिग्रस्त भएका थिए ।

नेपाल टेलिकमले भनेको छ,“ नेपाल टेलिकमले मिति २०८३।०५।१६ मा बाढीबाट प्रभावित धादिङको कल्लेरी र नुवाकोटको भद्रटार थाप्रेक, पुसनटार, तारुका, किस्पाङ (भाल्चे) र बुधसिंह साइट सुचारु गरेसँगै नेपाल टेलिकमका सबै साइटहरू सुचारु भएका छन् तथा पूर्ण रुपमा क्षतिग्रस्त भएका साइटहरूबाट उपलब्ध सेवाहरु हाल अन्य साइटहरूबाट उपलब्ध गराइएका छन् । मोबाइल सेवाको थप प्रभावकारिताको लागि उक्त क्षतिग्रस्त साइटहरुलाई प्राथमिकतामा राखी पुनःनिर्माण गरी सञ्चालनमा ल्याइने छ ।”