चीनको सिचाङ(तिब्बत) स्वायत्त क्षेत्रको सरकारद्वारा नेपाललाई बेलिब्रिज निर्माणका लागि सहयोग


काठमाडौँ । चीनको सिचाङ (तिब्बत) स्वायत्त क्षेत्रको सरकारले १०० मिटर लम्बाइका २ ओटा बेलीब्रिजको लागि सामग्रीहरू हस्तान्तरण गरेको छ ।

ल्हासास्थित नेपाली महावाणिज्य दूतावासमा आयोजित हस्तान्तरण समारोहमा महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र जनवादी गणतन्त्र चीनको सिचाङ स्वायत्त क्षेत्रको विदेश मामिला कार्यालयका उपमहानिर्देशक औयाङ च् पिङबिच हस्तान्तरण प्रमाणपत्रमा हस्ताक्षर आदानप्रदान गरिएको छ ।

शुक्रबार महावाणिज्य दूतावासले हालै आएको भोटेकोशी बाढी प्रभावित क्षेत्रका लागि ३० वटा बेली ब्रिजहरू उपलब्ध गराउन सिचाङ स्वायत्त क्षेत्रको विदेश मामिला कार्यालयलाई अनुरोध गरेको थियो ।

महावाणिज्य दूतावासका अनुसार माथिल्लो मुस्ताङको कोरोला (लिजी) सीमा बिन्दुमा पुगेका सामग्रीहरू नेपाल पक्षले आजै प्राप्त गर्नेछ ।

यसका साथै, पुलहरूको प्रभावकारी र सहज स्थापनाको लागि चीन पक्षले प्राविधिक कर्मचारीहरू प्रदान गरेको छ। ती प्राविधिकहरू चाँडै नेपाल पुग्ने जनाइएको छ ।

कार्यक्रममा ल्हासास्थित नेपालको महावाणिज्य दूतावास र जनवादी गणतन्त्र चीनको सिचाङ स्वायत्त क्षेत्रको विदेश मामिला कार्यालयका अधिकारीहरू उपस्थित थिए ।