काठमाडाैँ । प्रधानमन्त्री वालेन्द्र शाह र अष्ट्रेलियाका समकक्षी एन्थोनी अल्बानिजबिच आज टेलिफोन वार्ता भएको छ।
बिहान १० बजे भएको टेलिफोन वार्तामा प्रधानमन्त्रीले नेपाल कठिन परिस्थितिबाट गुज्रिरहेका बेला अष्ट्रेलियाली समकक्षीसँग संवाद हुनु महत्वपूर्ण रहेको बताए।
प्रधानमन्त्री शाहले यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा भीषण बाढी आउँदा जनधन र भौतिक पूर्वाधारमा पुगेको क्षतिप्रति अष्ट्रेलिया सरकार र त्यहाँका नागरिकहरुले देखाएको ऐक्यबद्धताप्रति कृतज्ञता व्यक्त गरे ।
साथै, उनले नेपालको यो विपद्मा उद्धार तथा राहत कार्यमा अष्ट्रेलियाले देखाएको सहयोगको प्रशंसा गरे। खासगरी अष्ट्रेलियाले विशेषज्ञ ड्रोन अपरेटरको टोली र अत्यावश्यक राहत सामग्री पठाएकोमा तथा आर्थिक सहयोग गरेकोमा आभार व्यक्त गरे।
साथै, प्रधानमन्त्रीले नेपालमा बाढीका कारण बेपत्ता भएका अष्ट्रेलियाली नागरिकहरुको पनि खोजी कार्य तीव्र पारिरहेको बताए। उनले नेपाल र अष्ट्रेलियाबिच लामो समयदेखिको घनिष्ठ सम्बन्ध रहेको उल्लेख गर्दै विपद्को यो क्षणमा खोज, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा अष्ट्रेलियासँग निरन्तर समन्वय र सहकार्य गरिरहने उल्लेख गरे।
संवादका क्रममा अष्ट्रेलियाका प्रधामन्त्रीले विपद्का कारण नेपालले भोगिरहेको कठिनाइबारे चासो र चिन्ता व्यक्त गरेका थिए।


प्रतिक्रिया दिनुहोस्