रसुवागढी बन्द भएपछि कोरलामा बढ्यो चाप, एक सातामै २५२ कन्टेनर नेपाल भित्रिए


काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण रसुवागढी–केरुङ नाका बन्द भएपछि मुस्ताङको कोरला नाकामा व्यापारिक चहलपहल बढेको छ।

भदौ १० देखि १८ गते बिहानसम्म बेनी–जोमसोम–कोरला सडक हुँदै २५२ वटा खाली कन्टेनर कोरला पुगेका छन्। यसअघि दैनिक औसत ८ देखि १० वटा कन्टेनर मात्र आवतजावत गर्थे।

एक सातामा चिनियाँ सामान बोकेका ७० कन्टेनर भन्सार जाँचपास भएका छन् भने ६१ वटा विद्युतीय सवारीसाधन ९ईभी० नेपाल भित्रिएका छन्।

रसुवागढीबाट डाइभर्ट भएका सामान ल्याउन थप कन्टेनर कोरला जाने क्रम जारी छ। अहिले कोरला र नेचुङस्थित भन्सार यार्डमा २०० भन्दा बढी कन्टेनर रोकिएका छन्।

तर, बढ्दो चापअनुसार भन्सारमा पर्याप्त जनशक्ति र पूर्वाधार छैन। १८ जनाको दरबन्दी रहेको मुस्ताङ भन्सारमा हाल १२ जना मात्रै कार्यरत छन्।

गत आर्थिक वर्ष कोरला नाकाबाट ६ अर्ब ९२ करोड रुपैयाँ राजस्व संकलन भएको थियो।