११ औँ दिन नुवाकोटमा महिलाको सकुशल उद्धार, हेलिकप्टरबाट काठमाडौँ ल्याइँदै


काठमाडौँ । नुवाकोटको विदुर नगरपालिका-१० बेत्रावतीस्थित घरको चौथो तलाबाट एक महिलाको घटनाको ११ औँ दिन जीवितै उद्धार गरिएको छ। सशस्त्र प्रहरी बलको टोलीले स्थानीय आनन्द श्रेष्ठकी श्रीमती चन्डिका श्रेष्ठको चार तले घरको माथिल्लो तलाबाट सकुशल उद्धार गरेको हो।

सशस्त्र प्रहरी निरीक्षक सुमन बिकको कमान्डमा खटिएको उद्धार टोलीले श्रेष्ठलाई जीवितै बाहिर निकालेको हो। उद्धारपश्चात् उनलाई तत्काल थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ ल्याउने तयारी गरिएको छ।

सशस्त्र प्रहरी बलका सह-प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) शैलेन्द्र थापाले इन्सपेक्टर सुमन बिकको कमान्डको टोलीले ११ औँ दिन चौथो तलाबाट जीवितै उद्धार गरेको उल्लेख गर्दै तत्काल स्वास्थ्य उपचार आवश्यक परेकाले हेलिकप्टरमार्फत काठमाडौँ ल्याउने तयारी भइरहेको जानकारी दिए ।