प्रधानमन्त्री शाहले भने,‘पीडामा रहेका नागरिकलाई हियाउने र थप पीडा दिन खोज्ने अपराधी हुन्,सरकार निर्मम हुनेछ’


काठमाडौँ । प्रधानमन्त्री वालेन शाहले भोटकोशी बाढीका कारण पीडामा रहेका मानिसहरूमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरूमाथि सरकार निर्मम हुने बताएका छन् ।

उनले यस्तो गतिविधि गर्नेलाई अपराधीको संज्ञा दिँदै सरकार निर्मम हुने बताएका हुन् ।

पछिल्लो समय भोटेकोशी बाढी प्रभावित नागरिकमाथि रास्वपाकै कार्यकर्ताले छुद्र टिप्पणी तथा गालीगलौज गरेको भन्दै आलोचना बढेपछि प्रधानमन्त्री शाहले समाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

उनले भनेका छन्, “आफन्त हराएर अथाह पीडामा रहेका नागरिकहरूको आक्रोश स्वाभाविक हो । एकै क्षणमा आफ्नो संसार गुमाएकाहरूको आक्रोश, आक्रोशभन्दा बढी पीडा व्यक्त गर्ने माध्यम हो । हामीले उहाँहरूको आक्रोशलाई संयमतापूर्वक सुन्नुपर्छ । यस संवेदनशील घडीमा पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् । ती अपराधीहरूप्रति सरकार निर्मम हुनेछ ।