प्रधानमन्त्री राहत कोषमा रु. ११ अर्ब ९५ करोड १७ लाख मौज्दात


काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप कोषमा रु. ११ अर्ब ९५ करोड १७ लाख रुपैयाँ मौज्दात रहेको रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

आज साँझ ५ः०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका ९ वटा रुपैयाँ खातामा रु. ८ अर्ब ७६ करोड ६९ लाख र २ वटा डलर खातामा २,११,०८,४७१ अमेरिकी डलर मौज्दात रहेको छ । डलरलाई रु. १५०.८८ का दरले रूपान्तरण गर्दा कोषमा उपलब्ध कुल मौज्दात रु. ११ अर्ब ९५ करोड १७ लाख पुगेको छ ।

भोटेकोशी बाढीपछिको कुल सङ्कलन रु. ७ अर्ब ६८ करोड ४४ लाख र २ कराड ५ लाख २२ हजार ४ सय २३ अमेरिकी डलर पुगेको छ ।

यो जुन विपद्अघिको रु. २ अर्ब ८ करोड २४ लाख मौज्दातबाहेकको रकम भएको अर्थ मन्त्रालयले जनाएको छ । भदौ २३ गते एकै दिन रु. ३० करोड ६२ लाख र १,१२,०३२ अमेरिकी डलर प्राप्त भएको छ ।

राहत तथा उद्धार कार्यका लागि भदौ १६ गते राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई रु. १ अर्ब हस्तान्तरण गरिएको थियो ।

प्रभावित परिवारप्रति निरन्तर सहयोग गर्ने स्वदेश तथा विदेशका सम्पूर्ण व्यक्ति र संस्थाप्रति अर्थ मन्त्रालयले आभार व्यक्त गरेको छ ।