विपदमा परेका नागरिकलाई होच्याउने रास्वपा कार्यकर्तालाई तत्काल पार्टीबाट निष्कासन गरिने


काठमाडौँ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्राकृतिक विपद्‌मा परी पीडामा रहेका र रुँदै गरेका नागरिकलाई सामाजिक सञ्जाल वा चोक-चौतारामा होच्याउने, तुच्छ टिप्पणी गर्ने तथा ‘साइबर बुलिङ’ गर्ने आफ्नो पार्टीका जुनसुकै तहका नेता तथा कार्यकर्तालाई साधारण सदस्यसमेत नरहने गरी तत्काल निष्कासन गरिने चेतावनी दिएका छन्।

बुधबार प्रतिनिधिसभा बैठकको रोस्ट्रमबाट सम्बोधन गर्दै सभापति लामिछानेले विपद्को यो कठिन समयमा नागरिकको आक्रोश र चित्कार सुन्न नसक्ने र उनीहरूको घाउमा नुनचुक छर्किने मानवीयताविहीनहरूका लागि पार्टीमा कुनै ठाउँ नरहेको स्पष्ट पारे।

“यदि राष्ट्रिय स्वतन्त्र पार्टीको कुनै पनि तहको सदस्य वा पदाधिकारी विपदमा परेका नागरिकमाथि सामाजिक सञ्जालमा तुच्छ टिप्पणी गर्ने वा साइबर बुलिङ गर्ने कार्यमा संलग्न भएको पाइयो भने, त्यस्ता व्यक्तिलाई साधारण सदस्यसमेत नरहने गरी तत्काल पार्टीबाट निष्कासन गरिनेछ,” सम्बोधनका क्रममा लामिछानेले भने, “हामीलाई विपदमा रुँदै गरेका नागरिकलाई होच्याउने अन्ध-समर्थक चाहिएकै छैन। हामीलाई त शोक र पीडामा परेका भुइँमान्छेको पक्षमा उभिने र उनीहरूको आँसु पुछने सदस्य चाहिएको छ।”

नागरिकको चित्कार र आक्रोशलाई गलत व्याख्या गर्ने, सामाजिक सञ्जालको आडमा ओठे जवाफ फर्काउने अधिकार कसैलाई नभएको भन्दै उनले विपद्‌मा सर्वस्व गुमाएका नागरिकप्रति समानुभूति राख्नु सबैको प्राथमिक दायित्व भएको बताए।

अकल्पनीय प्राकृतिक प्रकोपका कारण हजारौँ परिवारले घरबार, जायजेथा, खेतबारी, जीवनभरको कमाइ र प्राणभन्दा प्यारा आफन्त गुमाएको उल्लेख गर्दै उनले विपद्‌मा परेका नागरिक राज्यमाथि आक्रोशित हुनु उनीहरूको ‘नैसर्गिक अधिकार’ भएको बताए।

सुरक्षित कुर्सी र कोठामा बसेर पीडितको भत्किएको मनको गहिराइ नाप्न नसकिने भन्दै लामिछानेले भने, “बिहान विद्यालय गएका छोराछोरी अब फर्किन्छन् कि भनेर भत्किएको संघारमा बाटो हेरिरहेका आमाबाबु, मृत्युको अँध्यारो सुरुङभित्र प्रियजनको सास खोज्दै बगरमा भटकिएका आफन्त र लेदोभित्रबाट आवाज आउँछ कि भनेर चिच्याइरहेका पुकारहरूको मनस्थिति परिकल्पनाभन्दा बाहिर छ।”

उनले अगाडि थपे, “आफन्तको सास खोजिरहेका ती आत्तिएका आँखाले प्राविधिक वा प्रशासनिक प्रगति विवरण हेर्दैनन्। उनीहरूलाई त केवल प्रियजनको सास बाँकी छँदै राज्य पुगोस् र उद्धार गरोस् भन्ने हुन्छ। जब मानिस गहिरो चोटमा पर्छ, उसले भगवानलाई त सराप्छ भने, यो सरकार के हो? रास्वपा के हो? नागरिकको त्यो आक्रोशलाई सरकार वा पार्टीविरुद्धको प्रहार नभई राज्य गुहार्ने अन्तिम चित्कारको रूपमा बुझ्नुपर्छ।”

‘निर्मम हुन्छौँ’ भन्ने विज्ञप्ति होइन, व्यवहारमा देखाउन सरकारलाई आग्रह

सभापति लामिछानेले पीडित नागरिकमाथि हुने अमानवीय दुर्व्यवहार र तुच्छ टिप्पणीका विरुद्ध कागजमा ‘हामी निर्मम हुन्छौँ’ भनेर विज्ञप्ति निकाल्नुभन्दा व्यवहारमै राज्य निर्मम छ र पीडितको पक्षमा उभिएको छ भन्ने कुरा नागरिकलाई महसुस गराउन सरकारसँग जोडदार माग गरे।

विपद्‌को समयमा नागरिकको आक्रोश सुन्ने, सहने र उनीहरूको आँसु पुछने फराकिलो छाती नै साँचो राज्यसत्ता भएको बताउँदै उनले सामाजिक सञ्जाल र चोक-चौतारामा गरिने कटाक्ष र तुच्छ टीकाटिप्पणी आजै र अहिल्यैबाट बन्द गर्न सरकार र सम्पूर्ण राजनीतिक दलका शुभेच्छुकहरूसँग गम्भीर अपिल गरे।

सरकारका काम-कारबाही र तयारीमा रहेका कमी-कमजोरी औंल्याउनु प्रतिपक्षको अधिकार र कर्तव्य दुवै भएको स्पष्ट पार्दै लामिछानेले रचनात्मक आलोचना जारी रहने बताए।

“म सरकारले गरेका प्रयासमाथि प्रश्नै गर्न हुँदैन, कमजोरी औंल्याउन हुँदैन भन्दिनँ। प्रतिपक्षको रचनात्मक आलोचना लोकतन्त्रमा अधिकार मात्र होइन, कर्तव्य पनि हो। सरकारमाथि प्रश्न गरौं, जवाफदेहिता मागौँ, कमजोरी सच्याउन दबाब दिऔं,” उनले भने, “तर राष्ट्रिय पीडालाई राजनीतिक हतियार बनाउने छुट हामी कसैलाई छैन।”

विपद्‌को यो कहालीलाग्दो अवस्थालाई अवसर बनाएर एकापसमा आरोप-प्रत्यारोपको खेल खेल्ने र राजनीतिको रोटी सेक्ने समय यो नभएको उनले उल्लेख गरे।

महाविपद्‌को सामना गरिरहँदा सत्तापक्ष र प्रतिपक्ष भनेर तराजुमा जोख्न नहुने बताउँदै लामिछानेले प्रकृतिको प्रकोपले कसैको राजनीतिक दल वा विचार छानेर प्रहार नगर्ने तर्क गरे।

“यो विपत्ति कसैका लागि राजनीतिक लाभहानिको विषय बन्नु हुँदैन। यो हामी एकअर्कासँग लड्ने समय होइन,” उनले भने, “हाम्रो राजनीतिक विचार फरक हुन सक्छ, पार्टी फरक हुन सक्छ, सरकारप्रतिको धारणा फरक हुन सक्छ; तर देश र जनताप्रतिको हाम्रो दायित्व कहिल्यै फरक हुन सक्दैन।”