रसुवा बाढीबाट डेढ लाख नागरिक प्रत्यक्ष रुपमा प्रभावितः होल्डिङ सेन्टरमा रहेका २५ जनालाई झाडापाखाला


काठमाडौँ । रसुवाको भोटेकोशी र त्रिशूली नदिनमा आएको १० भदौको बाढीबाट रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लाका करिब डेढ लाख नागरिक प्रत्यक्ष रुपमा प्रभावित भएको भएको प्रारम्भिक आँकलन गरिएको छ । 

उक्त विनाशकारी बाढीबाट डेढ लाख नागरिक प्रत्यक्ष रुपमा प्रभावित भएको प्रारम्भित आँकलन गरिएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ ।

शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्रालयका सचिव डा. विकास देवकोटाले वागमती प्रदेश सरकार र सरकारका विभिन्न संयन्त्रमार्फत संकलन गरिएको तथ्यांकका आधारमा प्रभावित जनसंख्याको आँकलन गरिएको जानकारी दिए ।

उनले प्रभावित क्षेत्रबाट उद्धार गरी होल्डिङ सेन्टरमा राखिएका २५ जनालाई झाडापाखा लागेको भेटिएको पनि बताए । अन्य स्वास्थ्यम्बन्धी समस्या देखा नपरेको उनकाे भनाइ छ। सचिव देवकोटाले पछिल्लो विपद्बाट स्वास्थ्य क्षेत्रले महत्वपूर्ण पाठ सिकेको भन्दै आगामी दिनमा बन्ने संरचनालाई जलवायु अनुकूल बनाउनुपर्नेमा जोड दिए ।

उनले भौगोलिक अवस्था र तापक्रमअनुसार भवन निर्माणको अवधारणा अघि बढाउनुपर्ने र मन्त्रालयले त्यससम्बन्धी योजनाको तयारी गरिरहेको बताए ।  संरचना निर्माण गर्दा स्वास्थ्यसम्बन्धी समस्या पर्दा सहज रूपमा सेवा लिन सकिने गरी नजिकका स्वास्थ्य सुविधाको अवस्थालाई समेत आधार बनाउनुपर्नेमा उनको जोड छ ।

उनले पुर्नस्थापन र पुनर्निमाणका लागि ‘क्लाइमेट रेजिलेन्स स्ट्रक्चर’ सहितको मास्टरप्लान निर्माण गरिरहेको बताए।