काठमाडौँ । साउदी अरबको एक महत्वपूर्ण तेल पाइपलाइन प्रणालीमा ड्रोन आक्रमण भएको छ । साउदी अरबको ऊर्जा मन्त्रालयले पाइपलाइनमाथि आक्रमण भएको पुष्टि गर्दै सञ्चालन बन्द गरिएको जनाएको छ । साउदीले सावधानीका लागि पाइपलाइन बन्द गरिएको जनाएको छ ।
प्रारम्भिक अनुसन्धानअनुसार पाइपलाइनसँगै रहेका पम्पिङ स्टेसनहरू आक्रमणको निशानामा परेका थिए ।
अमेरिकी अधिकारीमध्ये एकका अनुसार ती स्टेसनहरूमा क्षति पुगेको सिएनएनले जनाएको छ । शुक्रबार खिचिएको उपग्रह तस्वीरले एउटा पम्पिङ स्टेसनमा व्यापक आगलागी भएको देखाएको छ भने बिहीबार लिइएको अर्को तस्वीरमा एक पम्पिङ स्टेसनबाट बाक्लो कालो धुवाँसहित सानो आगो लागेको देखिएको थियो ।
आक्रमण कसले ग¥यो वा पाइपलाइनको मुख्य संरचनामा क्षति पुगेको छ कि छैन भन्ने कुरा तत्काल स्पष्ट नभए पनि एक अमेरिकी अधिकारीले ड्रोनहरू इराकबाट आएको बताएका छन् ।
पछि साउदी अरबको परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै रियाद र मदिनाह क्षेत्रमा रहेको पूर्व–पश्चिम पाइपलाइनमा इराकबाट आएका धेरै ड्रोनद्वारा आक्रमण भएको र त्यसबाट केही व्यक्ति घाइते भएको तथा भौतिक क्षति पुगेको जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ,“इराकी प्रधानमन्त्रीको अनुरोधलाई सम्मान गर्दै र इराक सरकारलाई आफ्नो भूमिबाट साउदी अरब तथा छिमेकी मुलुकहरूविरुद्ध हुने आक्रमण रोक्न आवश्यक कदम चाल्ने अवसर दिनका लागि राज्यले यस चरणमा प्रतिकार नगर्ने निर्णय गरेको छ ।”
यो आक्रमणले इरानसँगको जारी युद्ध तथा क्षेत्रीय तनावबिच साउदी अरबका तेल स्रोतहरू र तेल निर्यात क्षमतामाथि बढ्दो खतरा रहेको सङ्केत गरेको विबिसीले जनाएको छ ।
पाइपलाइनमाथिको आक्रमण हुनु केही दिनअघि मात्र इरान समर्थित एउटा मिलिसियाले यमनको रणनीतिक ‘रेड सी’ तटीय बन्दरगाह सहर नियन्त्रणमा लिएको थियो। उक्त घटनाले पनि क्षेत्रीय ऊर्जा ढुवानीमा थप जोखिम सिर्जना गरेको मानिएको छ । स्रोतहरूका अनुसार पाइपलाइन प्रणालीमा भएको क्षति मर्मत गर्न कति समय लाग्ने हो भन्ने कुरा तत्काल स्पष्ट छैन ।
ऊर्जा मन्त्रालयले पाइपलाइनमाथि धेरै पटक आक्रमण भएको र त्यसबाट धेरै व्यक्ति घाइते भएको जनाएको छ । मन्त्रालयका अनुसार सुरक्षाकर्मी र प्राविधिक टोलीहरूले पाइपलाइनलाई सुरक्षित बनाउने तथा क्षतिको मूल्याङ्कन गर्ने काम गरिरहेका छन्।
मध्यपूर्वका घटनाक्रमका कारण यस सातामात्र तेलको मूल्य तीव्र उतारचढावबिच प्रतिव्यारेल १०० अमेरिकी डलरभन्दा माथि पुगेको छ , विश्लेषकहरूका अनुसार साउदी अरबको ऊर्जा पूर्वाधारमाथिको यस्तो आक्रमणले विश्व ऊर्जा बजारमा थप अस्थिरता ल्याउन सक्छ ।


प्रतिक्रिया दिनुहोस्