काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ब्रिक्सले विश्वमञ्चमा आफ्नै विशिष्ट पहिचान स्थापित गरेको र यो समूह कसैको विरोधमा नभएको बताएका छन् ।
नयाँ दिल्लीस्थित भारत मण्डपममा आज दिउँसो आयोजित ब्रिक्स शिखर सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले यस्तो बताएका हुन् ।
उनले भने, “विगत २० वर्षमा ब्रिक्सले विश्वमञ्चमा आफ्नो छुट्टै पहिचान बनाएको छ । हामी एकअर्काको दृष्टिकोणको सम्मान गर्छौँ र सहमतिका आधारमा अगाडि बढ्छौँ । हामी कसैको विरोधमा होइन, सबैलाई साथ लिएर अघि बढ्ने सोचका साथ कार्य गर्छौँ । अब हाम्रो एकता र सहमतिलाई विश्वमञ्चमा ठोस उपलब्धिमा रूपान्तरण गर्ने समय आएको छ ।”
यस वर्ष भारतले ब्रिक्स समूहको अध्यक्षता गरिरहेको छ । प्रधानमन्त्री मोदीले विश्व शासन व्यवस्थामा सुधारका लागि १० बुँदे रोडम्याप समेत प्रस्ताव गरेका छन् । उनले विभिन्न विश्वव्यापी चुनौतीहरूको सामना गर्न ग्लोबल साउथ (विकासोन्मुख तथा विकासशील देशहरू) केवल नियम पालना गर्ने पक्ष मात्र नभई नियम निर्माण गर्ने पक्ष पनि बन्नुपर्ने बताए ।
मोदीले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्मा सुधारको प्रक्रिया अब थप ढिला गर्न नहुने धारणा व्यक्त गरे । उनले भने, “आज ग्लोबल साउथ विश्वव्यापी सङ्कटहरूको पहिलो पङ्क्तिमा उभिएको छ, तर निर्णय लिने प्रक्रियामा यसको स्थान पछाडि छ। हामीले यो ‘विशेषाधिकारयुक्त पिरामिडलाई साझेदारीको मञ्चमा रूपान्तरण गर्नुपर्छ, जहाँ प्रत्येक देशको आवाज सुनियोस्, प्रत्येक सदस्यको सहभागिता सुनिश्चित होस् र मानवताको विकास हरेक प्रयासको केन्द्रमा रहोस् । ”
आज सुरु भएको शिखर सम्मेलन भोलीसम्म चल्ने छ । भारतले चौथो पटक ब्रिक्स शिखर सम्मेलनको आयोजना गरिरहेको छ तर वर्तमान विश्व परिस्थितिका कारण ब्रिक्सको यो बैठक विशेष रूपमा महत्वपूर्ण मानिएको छ ।
एकातर्फ इरानसँग सम्बन्धित युद्ध र तनावका कारण मध्यपूर्वको अवस्था निकै जटिल बनेको छ । अर्कोतर्फ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भन्सार शुल्क (ट्यारिफ) सम्बन्धी नीति तथा विश्वव्यापी व्यापारप्रतिको उनको दृष्टिकोणले धेरै देशहरूका लागि नयाँ चुनौती र कठिनाइहरू सिर्जना गरेको छ ।
यही कारणले विश्व अर्थतन्त्र, व्यापार, सुरक्षा तथा बहुपक्षीय सहकार्यका विषयमा छलफल गर्न आयोजित यसपटकको ब्रिक्स शिखर सम्मेलनलाई विशेष चासोका साथ हेरिएको छ ।


प्रतिक्रिया दिनुहोस्