एलपी ग्यास आपूर्ति सहज हुँदै, प्रभावित जिल्लालाई प्राथमिकता दिइएको छ: आयल निगम


काठमाडौँ । नेपाल आयल निगमले पछिल्लो समय देखिएको एलपी ग्यास आपूर्तिसम्बन्धी अवस्थाबारे उपभोक्तालाई जानकारी गराउँदै आपूर्ति क्रमशः सहज हुँदै गएको जनाएको छ।

निगमका अनुसार भदौ २७ गतेसम्म नेपालमा ५२ हजार ७ सय ३७ मेट्रिक टन एलपी ग्यास आयात भएको छ। यो करिब ३७ लाख १३ हजार ८ सय ५४ सिलिन्डर बराबर हो।

इन्डियन आयल कर्पोरेसनका विभिन्न रिफाइनरी तथा बोटलिङ प्लान्टबाट सेप्टेम्बर १० सम्म १९ हजार २ सय १५ मेट्रिक टन ग्यास लोडिङ भइसकेको निगमले जनाएको छ।

कृष्णभीरको पहिरोका कारण मुख्य सडक अवरुद्ध भएपछि वैकल्पिक व्यवस्थामार्फत तराईका उद्योगमा ग्यास रिफिल गरी काठमाडौँ उपत्यका तथा आसपासका जिल्लामा वितरण भइरहेको निगमले जनाएको छ।

भदौ १८ देखि २७ गतेसम्म वैकल्पिक मार्ग हुँदै त्रिभुवन राजपथ तथा बीपी राजमार्गबाट करिब ३ लाख ९९ हजार ५ सय २९ वटा सिलिन्डर उपभोक्तालाई वितरण गरिएको छ। दैनिक औसत ४० हजार सिलिन्डर वितरण भइरहेको निगमको भनाइ छ।

भदौ १० गते गएको विनाशकारी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका उपभोक्तालाई प्राथमिकतामा राखेर ग्यास वितरणको व्यवस्था मिलाइएको निगमले जनाएको छ।

कृष्णभीरको बाटो खुलाउन गृह मन्त्रालयलगायत सम्बन्धित निकायबाट आवश्यक पहल भइरहेको र बाटो सञ्चालनमा आएपछि इन्डियन आयल कर्पोरेसनबाट एलपी ग्यासका बुलेट नियमित रूपमा आउने निगमले जनाएको छ। उद्योगहरूले आफ्नै उद्योगबाट ग्यास रिफिल गरी बजारमा पठाउने भएकाले आपूर्ति अवस्था क्रमशः सहज हुँदै जाने निगमको दाबी छ।

आपूर्ति व्यवस्थालाई थप प्रभावकारी बनाउन उच्चस्तरीय समन्वय टोली गठन गरिएको तथा सिलिन्डर लुकाउने वा कृत्रिम अभाव सिर्जना गर्ने क्षेत्रमा थप निगरानीका लागि गृह मन्त्रालयसँग समन्वय भइरहेको निगमले जनाएको छ।

यसअघि नेपाल सरकारबाट भएको अनुमानअनुसारको कोटा नलुकाई करिब १ हजार ९ सय सिलिन्डर उपभोक्तालाई वितरण गरिएको र अनियमितता गर्ने विक्रेतालाई नियमअनुसार दण्ड जरिवानासमेत गरिएको निगमले जनाएको छ।

निगमले ग्यास सिलिन्डर बिक्री–वितरणलाई पारदर्शी बनाउन अनलाइन ट्र्याकिङ प्रणाली विकास गर्ने पहलसमेत भइरहेको जनाएको छ। यस्तो अवस्थामा उपभोक्तालाई संयमित रहन निगमले आग्रह गरेको छ।